धरान : यसपाली रजत प्रतियोगिताको रूपमा हुने २५ औँ बुढासुब्बा गोल्डकप चलिरहेको बेला धरान रङ्गशालामा मदिरा निषेध गर्न सुझाव दिइएको छ ।

आयोजक धरान फुटबल क्लबले गोल्डकप प्रतियोगिता सञ्चालनको बेला सुरक्षा व्यवस्था चुस्त गर्न सुरक्षा निकायहरूसँग आज बुधवार गरेको छलमा उक्त सुझाव दिइएको हो । गोल्डकप माघ १९ देखी २६ गते सम्म सञ्चालन हुनेछ ।

छलफलमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले मदिरा निषेध गर्न सुझाव दिएका हुन । उनले रङ्गशाला भित्र रहने स्टलमा मदिराजन्य पदार्थ विक्री नगर्न, मदिरा खाएर मातेकालाई प्रवेश निषेध गर्न सुझाव दिए ।

उनले भने ‘रङ्गशाला प्रवेश गर्दा झोला समेत चेकजाँच गर्न उचित हुन्छ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र थापाले पार्किङ स्थललाई व्यवस्थित गर्न रङ्गशाला क्षेत्रको सडकको विकल्प खोजेर व्यवस्थापन सुझाव दिए ।

क्लबका अध्यक्ष प्रताप तामाङको सभापतित्वमा भएको छलफलमा सशस्त्र प्रहरी सुरक्षा वेस क्याम्पका प्रमुख डिएसपी देवेन्द्रबहादुर सिंह, राष्ट्रिय अनुसन्धान प्रदेश प्रमुख अनुसन्धान अधिकृत नवराज न्यौपाने, प्रहरी निरीक्षक जीवनकुमार गौतम, धरान हङकङ मञ्चका पूर्व अध्यक्ष नानोचन्द्र लिम्बू, धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराई, धरान-८ का वडाध्यक्ष धनबहादुर राई उपस्थित थिए ।

बैठकमा अध्यक्ष तामाङले गेट इन्ट्रिलाई पहिलाको भन्दा बेग्लै तरिकाले व्यवस्थापन गरिने जानकारी दिए । उनका अनुसार गोल्डकपमा आमन्त्रितहरूलाई भिभिआइपी कार्ड दिँदा धेरै दुरुपयोग भएको पाइएकोले यसपाली ए प्लस कार्डको व्यवस्था गरिएको बताए ।

गेट प्रवेशको पनि छुट्टै गेटको व्यवस्था गरिएको जानकारी दिए । टिकट काट्ने दर्शकका लागि रङ्गशालाका पूर्व उत्तरमा सानो गेट र मुख्य प्रवेशद्वार दक्षिणको सानो गेट प्रयोग गरिनेछ ।

खेल चलिरहेको समयमा सुरक्षा व्यवस्था कडा गरिनु पर्ने आवश्यकतामा अध्यक्ष तामाङले सुरक्षा निकायको ध्यानाकर्षण गराए । उनका अनुसार क्लबले योजनामा ५० जना सुरक्षा स्वयंसेवक र सुरक्षा कम्पनीको गार्डको व्यवस्था गरिने छ ।