सुनसरी : हिसान एन्फा सुनसरी कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा धरान आदर्श र एम्स कलेजले विजयी सुरुवात गरेका छन् ।

इटहरी तालतलैयास्थित बुढासुब्बा खेल मैदानमा शनिवार भएको पहिलो खेलमा एम्स एकेडेमीले बेबिलोन स्कुललाई ५-० गोल अन्तरले पराजित गरेको छ ।

शनिवार नै सम्पन्न अर्को खेलमा धरान आदर्शले कस्तुरी कलेजलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

शनिवार नै हुने भनिएको पिसजोन स्कुल र पूर्वाञ्चल बोर्डिङबिचको खेलमा पिसजोन नआएपछि पूर्वाञ्चलले बाकओभर पाएर विजेता बनेको छ । आइतबारको पहिलो खेल सुष्मा कलेज र विष्णु मेमोरियल स्कुल धरानबिच हुनेछ ।

दोस्रो खेलमा सीबि कलेज र धरान मेघा हिमालयन कलेजबिच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेलमा इटहरीको स्कील क्याम्पस र स्मल हेभन एकेडेमीबिच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम खेलमा ग्रीनपिस नमुना कलेज र धरान उच्च मावि बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं एन्फा सुनसरीका महासचिव कोबिदजंग कार्कीले जानकारी दिए ।

अखिल नेपाल फुटबल सङ्घ एन्फा सुनसरी र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ हिसान सुनसरीको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा सुनसरीका २३ वटा उच्च माविहरूको सहभागिता रहेको हिसान सुनसरी अध्यक्ष सागर भट्टराईले जानकारी दिए ।