वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा विद्यालय जाने कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गरिरहेका र विद्यालय नजाने १० देखि १४ वर्षको उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पी.भी. खोप दिइने भएको छ ।

नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत विद्यालय जाने कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गरि राखेका र विद्यालय नजाने १० देखि १४ वर्षको उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइने नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश प्रसाद मेहताले बताए ।

नगरपालिकामा आइतबार उक्त खोप एच.पी.भी. खोप अभियान - २०८१  सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिति र  सरोकारवालाहरूलाई अभिमुखीकरण समेत गरिएको छ ।

एच.पी.भी. खोप अभियान-२०८१ लाई लक्षित वर्ग समयसम्म पुर्‍याउन जनप्रतिनिधि, शिक्षा शाखाका प्रमुख, नगर भित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई सहभागी गराएर अभिमुखीकरण गराइएको हो ।

नगर प्रमुख रमेश कार्कीको सभाध्यक्षतामा आयोजना भएको अभिमुखीकरण कार्यक्रममा क्यान्सर सर्ने कारण, रोगको लक्षण, रोग सर्ने माध्यम,  खोप अभियानको उद्देश्य तथा औचित्य, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूको पाठेघरको परीक्षण गर्ने र पाठेघरका क्यान्सर प्रमाणित भएका महिलाहरूको रोगको निदान गर्ने राष्ट्रिय नीति सम्बन्धी छलफल गरिएको थियो ।

वराहक्षेत्रमा विद्यालय जाने कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गरि राखेका र विद्यालय नजाने १० देखि १४ वर्षको उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध माघ २२ र २३ गते देखि विद्यालयमा खोप केन्द्र बनाएर खोप लगाइने छ ।