धरान : नेपाली काँग्रेसले सुनसरी-१ धरानमा घरघर गएर काँग्रेस सदस्यहरूको क्रियाशील सदस्यता नवीकरण गर्ने अभियान सुरु गरेको छ ।
काँग्रेस क्षेत्रीय समितिद्वारा नवीकरण सम्बन्धी शनिवार आयोजित छलफलमा नवीकरणको अन्तिम मिति फागुन १ गते सम्म रहने निर्णय भएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।
उनका अनुसार उक्त मिति सम्ममा नवीकरण सकेर नगर समितिलाई बुझाउने छन् । छलफलमा वडा सभापतिहरूले घर घरमा गएर नवीकरण गर्ने निर्णय भएको हो ।
नवीकरणका साथै स्थानीय विकास निर्माण, सुशासन, सङ्गठन सुदृढीकरण लगायतका विषयमा भेलामा छलफल भएको थियो ।
प्रमुख अतिथि केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले अब काँग्रेसले काँग्रेसको विरोध नगरी सहानुभूति र सद्भावका साथ सहमति, सहकार्य र एकता गरेर पार्टी सङ्गठनलाई मजबूद बनाउनु पर्नेमा जोड दिए ।
पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद मीना सुब्बाले क्रियाशील सदस्य समयमै नवीकरण गरेर पार्टी चलायमान बनाउनुपर्ने बताइन् ।
कोसी प्रदेश महामन्त्री उमेश थापाले २०८३ मङ्सिर सम्ममा कुनै पनि हालतमा पार्टीको महाधिवेशन भई सक्नुपर्ने व्यवस्था भएकाले क्रियाशील सदस्यता नवीकरणमा पार्टी होमिनुपर्नेमा जोड दिए ।
सभापति सुजेन्द्र तामाङले क्रियाशील सदस्यता नवीकरण वडाले फागुन १, पालिकाले फागुन १०, प्रदेशसभाले फागुन २०, क्षेत्रीय समितिले फागुन मसान्तसम्ममा गरिसक्नुपर्ने केन्द्रीय परिपत्र भएको जानकारी दिए ।
नगर सभापति श्याम पोखरेलले नगर समितिले भने अव उपमहानगरपालिका केन्द्रित कार्यक्रम गर्ने घोषणा गरे । वडा कार्यसमितिले के-के कार्यक्रम गर्ने हो वर्षमा ४ वटा कार्यक्रम गर्न स्मरण गराउँदै सहयोग समेत गर्ने प्रतिबद्धता जनाए ।
कोषाध्यक्ष सुवर्ण श्रेष्ठले देउसी भैलोका आयव्यय प्रस्तुत गरे । छलफलमा वराहक्षेत्र-३ का सभापति पनुलाल धामी, बराहक्षेत्र ५ का सभापति दिलबहादुर पौडेल, धरान १ का सुमन श्रेष्ठ, धरान १९ का टङ्क सुवेदी, सुमन श्रेष्ठ तखाछे, कमला श्रेष्ठ, धरान ७ का सुवर्ण मोहन पलिखे, धरान ११ का सभापति लोकेन्द्र फागो, धरान १४ का श्याम श्रेष्ठले छलफलमा विचार राखेका थिए ।