वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ७ तित्रीगाछिमा रहेको महेन्द्र माध्यमिक विद्यालयले आफ्नो ५२औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलवार विद्यालयले औपचारिक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नगर प्रमुख रमेश कार्कीको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगर उप- प्रमुख नन्दकुमारी सुनुवार, वडा नं-७ का अध्यक्ष कपिल आचार्य, नगर शिक्षा विकास शाखाका प्रमुख उत्तमराज भारति, विद्यालयका पूर्व-प्रधानाध्यापक काशिनाथ वराल, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकास राई, सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख शुशिल कोईरला, नगर शिक्षा विकास समितिका सदस्य ज्ञानबहादुर पाण्डे, नेपाल शिक्षक सङ्घ वराहक्षेत्रका अध्यक्ष गोकुल गुरागाईँ, महेन्द्र मावि चक्रघट्टीका प्रधानाध्यापक चण्डिराज पोखरेल लगायत विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, विद्यालयका संस्थापकहरू, पूर्व शिक्षकहरू, पूर्व व्यवस्थापन समितिका अध्यक्षहरू, समाजसेवी, चन्दादाता, अक्षयकोष दाताहरूको गरिमामय अतिथ्यता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम आचार्यको सभाध्यक्षयतामा आयोजना भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक फिरोज घिमिरेले विद्यालयको इतिहास र भावी योजना प्रस्तुत गर्दै विद्यालयको गतिविधि बारे जानकारी तथा आर्थिक वर्ष २०८०/०८१ को आय/व्यय तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु प्रसाद सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य, सामूहिक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले मार्चपास, झाँकी प्रस्तुत गरेका थिए । कार्यक्रमकै अवसरमा विभिन्न खेलकुद तथा शैक्षिक गतिविधिमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार, छात्रवृत्ति प्रदान गरेका थिए ।
उत्कृष्ट वर्ष शिक्षकको रूपमा गणेश श्रेष्ठ, शकुन्तला गुरागाईँ, हरिनारायण भट्टराई, टोकेन्द्रकुमार दहाल त्यस्तै अभिभावकहरू जयबहादुर मगर, शुशिला माझी र तिलक बहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।बि.स. २०२९ सालमा स्थापना भएको उक्त विद्यालय वराहक्षेत्र नगरपालिकै प्रतिष्ठित सामुदायिक विद्यालयको रूपमा रहेको छ ।