इटहरी : विद्यार्थीको नतिजा, भौतिक प्रगति र शैक्षिक गतिविधिमा अब्बल बन्दै गएको जनता माविले ६८औ वार्षिक उत्सव मनाएको छ । इटहरी उपमहानगरपालिकाको उत्कृष्ट मध्ये एक विद्यालय माविले पूर्व राष्ट्रपतिको प्रमुख आतिथ्यमा भव्यताका साथ उत्सव मनाएको हो । 

वार्षिक उत्सवमा एकै घरमा दुई दाजुभाइ सहित २१ जना सम्मानित भएका छन् । वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोखरेल र गोरखापत्र संस्थानका सञ्चालक समिति सदस्य सचिन पोखरेल एकै मञ्चबाट सम्मानित भए । गोरखापत्र दैनिकको कोशी प्रदेश समाचार संयोजक समेत रहेका सचिनलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको हो भने दिवस पोखरेल विद्यालय व्यवस्थापन समितिको सदस्य हिसाबमा सम्मानित भएका हुन् । सचिन पोखरेल सहित पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले समेत सम्मानित भए । 
विद्यालय व्यवस्थापन समितिका सदस्यहरू दिवस पोखरेल सहित मञ्जु खड्का, जुनु गिरि, सरिता कार्की (लामा), समीप राज पोखरेल र ९ नम्बर वडाका अध्यक्ष जितेन्द्र थापा सम्मानित भएका हुन् । सम्मानित हुनेहरूमा शैक्षिक सल्लाहकारको रूपमा डाक्टर दिवाकर रेग्मी, रेवती प्रसाद घिमिरे र बहादुर सिंह तामाङ छन् ।
पूर्व निर्माण समिति संयोजक दीपक ढकाल, वर्तमान निर्माण समिति संयोजक रमेश खत्री र सदस्य रोशन तामाङलाई पूर्व राष्ट्रपतिले सम्मान पत्र प्रदान गरिन् । 
खरिद समिति संयोजक सोमनाथ गौतम र सदस्य रामकृष्ण खड्का सहित पूर्व विद्यार्थीको तर्फबाट रमेश कुमार शाह र वीरेन्द्र गौतमले सम्मान पत्र पाएका छन् । अक्षय कोषका दाताहरू शम्भु कुमार चौधरी, पवित्रा शर्मा घिमिरे र अशोक बस्नेतलाई पनि सम्मान गरिएको हो । 
जनता माविको एक आर्थिक वर्षमा ९ करोड १६ लाखको जम्मा बजेट परिचालन भएको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले बताए ।
उनका अनुसार पूर्व राष्ट्रपति भण्डारीले नमुना विद्यालयको लागि निर्माण भएको भवन ३ तल्ले १२ कोठे भवन उद्घाटन गरेकी हुन् । सङ्घीय सरकारको नमुना विद्यालय गुरु योजना अन्तरगत १ करोड ८७ लाख लागतमा भवन निर्माण भएको हो ।
janata-school-anniversary-2janata-school-anniversary