धरान : अहिले सम्म धरानको नदी, खोला उत्खनन गर्न ठेक्का नदिने अडानमा रहेका नगर प्रमुख हर्क साम्पाङले हिजो मङ्गलवार बोलाएको कार्यपालिका बैठकमा राखेको क्रसर उद्योग सञ्चालन गर्ने प्रस्ताव अस्वीकृत भएको छ ।
खोलामा क्रसर उद्योग सञ्चालन गर्नु वातावरणीय दृष्टिकोणले नदी, खोला उत्खनन गर्नु भन्दा नराम्रो मानिन्छ । क्रसर उद्योगले प्रकृति विनाश तीव्र गतिमा गर्ने भएकोले सरकारले कानुन बनाएर खोलामा क्रसर उद्योग चलाउन रोकेको छ ।
प्रमुख साम्पाङले कार्यपालिका बैठकमा नगरसभाले क्रसर उद्योग सञ्चालन गर्न रातो किताबमा योजना पास गरेको आधारमा प्रस्ताव टेबल गरेका थिए । तर वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूले प्रस्ताव टेबल हुन दिएनन् ।
बैठकमा ६ वटा एजेण्डा मध्ये गणपूरक सङ्ख्या, अघिल्लो बैठकको समीक्षा, नगरसभा सम्बन्धी प्रस्ताव पारित भएको छ । क्रसर उद्योग, मेयर भिजन कोषको रकम रकमान्तर छलफलका लागि टेबल भएन ।
कार्यालय समय सकिएपछि ५ बजे बजे बसेको बैठक छलफलका बिच प्रमुख साम्पाङ आफैले साँझ ७ बजे स्थगित गरेर बाहिरिए ।
प्रमुख सम्पाङको तर्क
प्रमुख साम्पाङको भनाई थियो ‘क्रसर सञ्चालन गर्दा कानुन लाग्छ भने मुद्दा लडौला ।’ कानुन राणा कालमा पनि थियो नियम कानुन संशोधन गर्दै जानु पर्छ भन्दै क्रसर उद्योग चलाउन आफै कानुन बनाउनु पर्ने बताएका थिए ।
उनले सङ्घीय सरकार र प्रदेश सरकारको नियम कानुन लाई छोडेर स्थानीय सरकार आफै नियम ऐन बनाएर लागु गर्नु पर्ने प्रस्ताव गरे । बैठकमा उनले ‘नियम बनाउन कार्यपालिका बसेको होइन ? कार्यपालिकाको काम चैँ के त ?’ भनी प्रश्न गर्दै उपमहानगरपालिका आफैले कानुन बनाएर क्रसर चलाउनु पर्ने तर्क गरे ।
उपप्रमुख बेघाको भनाई
उपप्रमुख अइन्द्रबिक्रम बेघाले प्रदेश र सङ्घीय कानुन, नियमले क्रसर उद्योग सञ्चालन गर्न मिल्छ भने चलाउन सकिने बताए । उनले भने ‘नियम कानुन माथि केही हुनु हुँदैन नियम कानुन सबैलाई लागु हुन्छ ।’
वडाध्यक्षहरूको आपत्ति
वडा १० का अध्यक्ष विवेक राईले नगरप्रमुख साम्पाङ आफै खोलाको ढुङ्गा गिटी नबेच्ने अडानमा रहेको स्मरण गराए । उनले प्रश्न गरे ‘निर्वाचित भएको पहिलो मिटिङमा आफैले गरेको प्रस्ताव आफै बिर्सिएर अहिले बारम्बार क्रसर सञ्चालन गर्छु भन्दै प्रस्ताव आउनुमा भित्री कुरा के छ र के हो ?’
क्रसर उद्योगको एजेण्डामा शङ्का लागेको बताउँदै उनले नियम कानुन, विधि विपरीत कुनै पनि काम गर्न नहुने अडान व्यक्त गरे ।
वडा १९ का अध्यक्ष पूर्ण लिम्बुले पनि ‘क्रसर उद्योग सँग मेयरको सम्बन्ध के छ ?’ प्रश्न गर्दै क्रसर उद्योग सञ्चालन गर्नु भनेर नगर प्रमुख आफैले रातो किताबमा प्रस्ताव गरेको तर हाल सम्म खाका नआएको बताए ।
वडा ६ का अध्यक्ष भुपेन्द्र भट्टराईले खोलाको ढुङ्गा गिट्टी बेच्ने नै भए खोलाजन्य बस्तुको कार्यविधि र नियम बनाएर खोला उत्खनन गर्दा हुने बताए । तर उपमहानगरपालिकाले क्रसर उद्योग सञ्चालन गर्ने नियम कानुन नभएको बताउँदै भने ‘कानुन विपरीत कार्य नगरौँ ।’
कार्यपालिका सदस्य सृजना नेपालले नीति नियम सबैले मानु पर्ने बताइन । उनले देशको नीति नियम मान्दिन भन्नु गलत भएको बताउँदै भनिन् ‘मेयरसँगै सती नै जान सक्दनौं ।’