धरान : विष्णुपादुका धरान-२० स्थित चण्डिका भवानी आधारभूत विद्यालयका २८ जना विद्यार्थीलाई नेपाल तरुण दल धरान उपमहानगर समितिले ट्र्याक सुट र शैक्षिक सामग्री वितरण गरेको छ ।
तरुण दलले यसपालि देउसी खेलेर सङ्कलित भएको रकमबाट विद्यार्थीलाई शैक्षिक सामाग्री र ट्रयाक सुट वितरण गरेको हो ।
धरानको विकट ठाउँ ठुलो खैरका स्थानीयको बालबालिका पढ्ने विद्यालयमा बालबालिकालाई जाडोमा स्कुल आउन सहज होस भनेर ट्रयाक सुट बाँडिएको तरुण दलका नगर अध्यक्ष राम तामाङले बताए ।
विद्यालयमा मङ्गलवार आयोजित वितरण कार्यक्रममा धरान-२० का वडाध्यक्ष पदमबहादुर लिम्बूले सरकारी क्षेत्रमा नजर नपुगेको उक्त विद्यालयले सीमित स्रोत साधनबाट शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
तरुण दल केन्द्रीय सदस्य देवेन्द्र लिम्बूले धरान-२० को शैक्षिक विकासको लागि आवश्यक बजेट तथा जनशक्ति उपलब्ध गराउन तरुण दलले सरकारसँग पहलकदमी गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जनप्रतिनिधि देवेन्द्र राई, तरुण दल उपाध्यक्ष बिक्रम तामाङ, विद्यालय व्यवस्थापन समिति सदस्य अशोक राई, शिक्षक, शिक्षिका अभिभावकको उपस्थिति थियो । सञ्चालन तरुण दल नगर सचिव मनोहर श्रेष्ठले गरेका थिए ।