धरान : तामाङ जातिको नयाँ वर्ष २८६१ सोनाम ल्होसार आज बिहीबार धरानको भानुचोकमा आयोजित समारोहका बिच मनाइएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाइन्छ ।

परम्परागत तामाङ पहिरन सहितको झाँकी र्‍याली भानुचोक देखि छाता चोक हुँदै पुरानो बजार, माछाभौडी परिक्रमा गरी भानुचोकमा समारोह भएको हो ।

सोनाम ल्होसार १२ वर्ष चक्रअन्तर्गत मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी विभाजित छ ।

यस वर्ष सर्प वर्षको सुरुआत भएको छ । ल्हो अर्थात् वर्ग (वर्ष) र छार अर्थात् नयाँ भन्ने अर्थमा ल्होछारलाई नयाँ वर्षको रूपमा प्रत्येक वर्ष मनाइने गरिएको तामाङ घेदुङ सङ्घका नगर अध्यक्ष सपन योन्जनले जानकारी दिए ।

ल्होसार समारोहमा धरान उपमहानगरपालिका उपमेयर अईन्द्र विक्रम बेघा लगायत राजनैतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो ।

सोनाम ल्होसार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने भएता पनि तामाङ समुदायमा विशेष गरी पाँच दिनसम्म घरघरमा उत्सव हुने तामाङ घेदुङका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण लामाले जानकारी दिए ।

Sonam-Losar-2081---..1