धरान : धरानका युवा कवि सुदिप पाख्रिन र विराटनगरका साहित्यकार उमानाथ भट्टराई कवि शिरोमणि लेखनाथ पौड्याल साधना समाजद्वारा आज बिहीबार आयोजित समारोह बिच नगद सहित सम्मानित भएका छन् ।
१४१ औँ लेखनाथ जयन्तीको सन्दर्भमा आयोजित खुल्ला राष्ट्रिय कविता प्रतियोगिता बिच उनीहरूलाई सम्मानित गरिएको हो ।
समारोहमा साहित्यकार उमानाथ भट्टराईलाई प्रमुख अतिथि कवि मनु मञ्जुलले दोसल्ला ओढाएर टिकाप्रसाद शर्मा बस्ती सम्मान पत्र सहित १० हजार रुपैयाँ नगद प्रदान गरे ।
युवा कवि सुदिप पाख्रिनलाई सारा थापा स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्रकुमार थापाले दोसल्ला ओढाएर सारा थापा स्मृति सम्मान पत्र सहित १० हजार रुपैयाँ नगद प्रदान गरे ।
समाजद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको राष्ट्रिय कविता प्रतियोगितामा यसपालि १५० कविता प्राप्त भएको थियो । प्राप्त कविताहरू मध्ये छनौट समितिद्वारा १६ वटा कविताले प्रतियोगितामा चयन गरिएको थियो ।
प्रतियोगितामा धरान-१५ की सवि मेवाहाङ राईको ‘बाबा’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको छ । उनले प्रथम पुरस्कार स्वरूप १० हजार रुपैयाँ प्राप्त गरिन् ।
यसैगरी धनकुटाका भरत थापाको ‘बाबाकाृ झोलाको पोष्टमार्टम’ कविताले दोस्रो स्थान हासिल गरेको छ । उनले नगद पुरस्कार स्वरूप ७ हजार रुपैयाँ प्राप्त गरेको छ ।
तेस्रो पुरस्कार भोजपुरकी कञ्चन खत्रीको ‘आमा..काठको बाकस’ शीर्षकको कविताले प्राप्त गरेको छ । उनले पुरस्कार स्वरूप ५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।
धरानका भवानी प्रसाद खतिवडाका ‘आऊ देश फर्क’ कविताले सान्त्वना पुरस्कार ३ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा दार्जिलिङका एड्रिनो दिनु थापा, धरानका गौरव खतिवडा, भक्तपुरका देवेन्द्र अधिकारी, धनकुटाका देवेन्द्र कश्यप, धरानकी प्रगति राई, तनहुँका प्रवीण काफ्ले, सिन्धुलीका बाबुराम श्रेष्ठ, धरानका भक्तबहादुर कार्की, धरानकी ममिता राई, विराटनगरका सुरेश अग्रवाल, रोमनाथ ढुङ्गेल, हरिप्रसाद बस्तीले कविता वाचन गरेका थिए ।
प्रमुख अतिथि कवि मनु मञ्जुलले युवा पुस्ताका कविता लेखनमा ‘एङगल’ महत्त्वपूर्ण बनेको बताउँदै भने ‘शब्द एकदम हलुका हुन्छ, त्यसलाई जहाँ सुकै राख्न सकिन्छ तर राख्दा त्यस्तो ठाउँमा राख्नु पर्छ जसलाई कहिल्यै कसैले हटाउन र भत्काउन नसकोस् ।’
प्रतियोगीताका निर्णायकहरूमा डा.सागरमणि सुवेदी, हर्ष सुब्बा, मुसिल वशिष्ठ थिइन् । कार्यक्रम सञ्चालन डा.भवानी शङ्कर भट्टराईले गरेका थिए ।
Laxim poudel kabita 2