धरान : जनकपुर नाइट्स नेपाल कबड्डी लिगको पहिलो च्याम्पियन बनेको छ । काठमाडौँमा भएको कबड्डी लिगको पहिलो संस्करणको उपाधि जितेर च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रवार भएको फाइनलमा खेलमा काठमान्डु माभरिक्सलाई ४५-४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो । उपाधिसँगै जनकपुरले ५ लाख रुपैयाँ प्राप्त गर्‍यो ।

उपविजेता काठमान्डुले भने २ लाखमा रुपैयाँमा चित्त बुझाउनु पर्‍यो । जनकपुर पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई हराउँदै फाइनलमा पुगेको थियो ।

काठमान्डु दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पाखा लगाउँदै जनकपुरसँगको फाइनलमा भिड्न पुगेको थियो । लिग चरणमा दुवै टोलीले ३९-३९ अङ्कको बराबरी खेलेका थिए । तर, फाइनलमा भने जनकपुरले काठमान्डुलाई पछि पार्दै उपाधि जित्यो ।

पहिलो हाफमै जनकपुरले ६ अङ्कको अग्रता लियो । रेइडबाट जनकपुरले ८, ट्याकल ६, २ अलआउटबाट ४ तथा बोनस र अतिरिक्तबाट ७ अङ्क जोडेको थियो ।

काठमान्डुले भने रेइडबाट २, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्तबाट ११ अङ्क मात्रै बटुल्न सक्यो । योसँगै पहिलो हाफ २५-१९ मा सकिएको थियो ।

दोस्रो हाफमा कप्तान घनश्याम रोक्कामगरले उत्कृष्ट प्रदर्शन गर्दै काठमान्डुलाई खेलमा फर्काएका थिए । तर, अन्तिम मिनेटतिर सम्हालिन नसक्दा काठमान्डु उपाधिबाट विमुख हुन पुग्यो ।

काठमान्डुले रेइडबाट ७, ट्याकलबाट ५, १ अलआउटबाट २ तथा बोनस तथा अतिरिक्तबाट ८ अङ्क जोडेको थियो । जनकपुरले भने रेइडबाट ७, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्त गरेर ५ अङ्क मात्रै बटुल्न सक्यो ।