वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाको भरौलमा नेपाल तरुण दलमा ३ दर्जन बढी युवाहरू प्रवेश गरेका छन् । विभिन्न राजनैतिक दलको भातृ संस्थामा आबद्ध तथा केही स्वतन्त्र युवाहरू गरी करिब ३ दर्जन बढी युवाहरू नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलमा प्रवेश गरेका हुन् । आइतबार नेपाल तरुण दल वराहक्षेत्र वडा नं ३, ४ र ५ वडा कार्यसमितिले आयोजना गरेको भेटघाट तथा वनभोज कार्यक्रमको अवसरमा विभिन्न राजनैतिक दलको भातृ संस्थामा आबद्ध ३ दर्जनको सङ्ख्यामा युवाहरू नेपाल तरुण दलमा प्रवेश गरेको नेपाल तरुण दल वडा नं ३ का सचिव असिम चाम्लिङ्ग राईले बताए ।

नव प्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस वराहक्षेत्र सभापति तथा नगर प्रमुख रमेश कार्की, महासमिति सदस्य जगत कार्की, महाधिवेशन प्रतिनिधि भीम कट्वाल, नेपाली काँग्रेस सुनसरी क्षेत्र नं १ सचिव केशव पुरी, सदस्य मणिराज राई, काँग्रेस नेता बुद्धि बहादुर कटुवाल, वडा अध्यक्षहरू राजदिप लामा, रोहित काफ्ले, तेजबहादुर गुरुङ्ग, तरुण दलका नेताहरूले तरुण दलमा स्वागत तथा प्रवेश गराएका थिए ।

तरुण दलमा आबद्ध युवाहरू र नेपाली काँग्रेसका नेताहरूबिच भेटघाट र छलफल गर्ने उद्देश्य सहित स्थानिय पर्यटकीय क्षेत्र अमाहको प्रचारप्रसार गर्ने उद्देश्य राखेर भेटघाट तथा वनभोज कार्यक्रम आयोजना गरिएको नेपाल तरुण दल वडा नं ३ का सभापति एकराज कार्कीले बताए । सोही अवसरमा वडा नं ३ सँगै वडा नं ४ र ५ का युवाहरूलाई तरुण दलमा प्रवेशको कार्यक्रम राखिएको नेपाल तरुण दल वराहक्षेत्र नगर सचिव मनोज तामाङ्गले जानकारी दिए ।