वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका-११ मा रहेको वराहक्षेत्र नगरपालिका मधुवन आयुर्वेद औषधालयले ज्येष्ठ नागरिकहरूलाई शक्तिवर्धक औषधी वितरण गरेको छ । चतराधाम स्थित विभिन्न धर्मशाला तथा आश्रमहरूमा बस्दै आइरहेका ४५ जना ज्येष्ठ नागरिकहरूलाई चिसोको समयमा सहयोग पुराउने उद्देश्य राखेर शक्तिवर्धक औषधी वितरण गरेको हो ।
सोमवार चतराधाम स्थित राधाकृष्ण भक्ति साधना आध्यामिक प्रतिष्ठान परिसरमा आयोजना गरिएको उक्त औषधी वितरण कार्यक्रममा नगर प्रमुख रमेश कार्कीले ज्येष्ठ नागरिकहरूलाई जेवनप्रास, शक्तिवर्धक चिया, आयुर्वेद तेल लगायतका सामाग्री प्रदान गरेका थिए ।
वराहक्षेत्र नगरपालिका मधुवन आयुर्वेद औषधालयको वार्षिक कार्यक्रम अनुसार ज्येष्ठ नागरिकहरूलाई शक्तिवर्धक औषधी वितरण गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । कार्यक्रममा नगर प्रमुख कार्की सहित नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार गौतम, वराहक्षेत्र नगरपालिका मधुवन आयुर्वेद औषधालयका चिकित्सक, जगद गुरु पिठका सचिव उद्बव प्रसाद घिमिरे लगायत ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो ।