वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाघखोलादेखि कटहरे बिच टोल जोड्ने करिब २ किलोमिटर सडकको लागि स्थानीयवासीले सडकको मार्ग ट्राक खोलेका छन् । कटहरे बिच टोलमा रहेका करिब ८० घरका स्थानीयहरूलाई खारखोलासम्म पुग्ने सहज सडकका लागि स्थानीयहरूले समाजसेवीहरूको आर्थिक सहयोग, वडा कार्यालयको ५० हजार बजेट र श्रमदानबाट करिब २ किलोमिटर सडकको लागि स्थानीयवासीले सडकको मार्ग ट्राक खोल्ने कार्य सम्पन्न गरेका छन् ।

स्थानीयहरूको श्रमदान र सक्रियताबाट खोलिएको सडकको मार्ग ट्राकको नगरपालिकाले आवश्यक स्तरउन्नती गर्ने भएको छ ।

मङ्गलवार स्थानीयवासीको आग्रहमा बाटोको अवलोकन गर्न कटहरे बिच टोल पुगेका नगर प्रमुख रमेश कार्कीले निर्माण भएको बाटोको मार्गलाई आवश्यक स्तरउन्नती गर्ने प्रतिबद्धता व्यक्त गरेको स्थानिय उत्तर राईले बताए । नगर प्रमुख कार्कीले स्थानीयले श्रमदान र सक्रियताबाट खोलिएको सडकको मार्ग भित्र परेको स-साना खोलामा ढुङ्गाको जाली लगाउने र आवश्यक स्तरउन्नती गर्ने वचन दिएको उनले बताए ।

कटहरे बिच टोलका करिब ८० परिवारलाई चतरा, खारखोलासँग सहज रूपमा जोड्न उक्त बाटो अति आवश्यक रहेको स्थानीयहरू बताउँछन् । उक्त सडकले स्थानीयले उत्पादन गरेका कृषि सामाग्री  बिक्री गर्न चतरा ल्याउन, विद्यालय जान, अस्पताल जान सहज हुने स्थानिय उत्तम राईले बताए ।