धरान : कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले धरानको खानेपानीको समस्या समाधानका लागि यहाँ भएको स्रोत पहिचान र पूर्वाधार निर्माणको काम धरान उपमहानगरपालिकामा नेकपा एमालेको नेतृत्व हुँदादेखि शुरु भएको दाबी गरेका छन् ।

धरान-८ मा पार्टी कार्यक्रममा उनले उपमहानगरपालिकामा एमाले नेतृत्व रहेकै समयमा खानेपानी स्रोतहरूको पहिचान र पूर्वाधार निर्माणको काम सुरुवात गरिसकिएकाले त्यही स्रोतबाट हाल धरानको खानेपानी थेगिरहेको बताए ।

सांसद बस्नेतले भने ‘एमाले नेतृत्वको समयमा स्रोतहरूको पहिचान र पूर्वाधार निर्माणको काम सुरु गरिसकिएको, पानी वितरण गर्ने समयमा एमाले स्थानीय सरकारबाट बाहिरिनु परेको र त्यसैको जगमा हालका जनप्रतिनिधिले जसलिने काम गरिरहेको छ ।’

एमाले धरान-८ अरुणटोल कमिटीको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले धरान-८ स्थित अरुणटोल र दुर्गापथकोबीच बग्ने खहरेमा पुलको व्यवस्था नहुँदा दुई टोललाई दुर्गम दार्चुला र धार्चुला बनाइदिएको बताए । स्थानीय सरकारको नजरमा नपरेकोले खहरेले धरानलाई कुरूप बनाइरहेको उनको भनाई थियो ।

वडा अध्यक्ष धनबहादुर राईले खहरेमा करिडोर बन्ने काम प्रारम्भ भएपछि करिडोरका बसोबासका स्थानीयको धेरै समस्या समाधान हुने बताउनुभयो । कार्यक्रममा बोन म्यारो क्यान्सर पीडित किशोर लिम्बूलाई उपचारका लागि ९ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरियो ।