वराहक्षेत्र : नेपाली काँग्रेस कोशी प्रदेश कार्यसमितिले सुरु गरेको ‘केचनकवल-सगरमाथा जागरण अभियान’ अन्तर्गत वराहक्षेत्रको चतरामा माघ २८ गते सोमवार कार्यक्रम आयोजना हुने भएको छ ।
नेपाल कै होचो भू-भाग झापाको केचनकवल बाट सुरु अभियान अन्तर्गत दोस्रो कार्यक्रमको रूपमा सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित औलिया बाबा मठमा कार्यक्रम हुनेछ । कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको नेपाली काँग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री उमेश थापाले जानकारी दिए ।

कार्यक्रमको तयारीको विषयमा बुधवार नेपाली काँग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री उमेश थापा, सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङ, नगर सभापति तथा नगर प्रमुख रमेश कार्की, महासमिति सदस्य जगत कार्की, मुना अधिकारी, शुशिला खनाल पौडेल, महाधिवेशन प्रतिनिधि बाबुराम विष्ट, भीम कट्वाल, पूजा धामी, वडा सभापतिहरू, वडाध्यक्षहरू, नगर समितिका पदाधिकारी, सदस्यहरूको उपस्थितिमा तयारीको विषयमा छलफल समेत भएको नगर सचिव प्रतीक राईले बताए ।
सङ्गठन सुदृढीकरण, ऐतिहासिक खोज संवृद्धिका आधार र जलवायु परिवर्तनको मुख्य उद्देश्यसहित नेपाली काँग्रेस
कोशी प्रदेश कार्यसमितिले ‘केचनकवल-सगरमाथा जागरण अभियान’ सुरु गरेको थियो । उक्त अभियान अन्तर्गत दोस्रो कार्यक्रमको रूपमा वराहक्षेत्रको चतरामा कार्यक्रम आयोजना गरिने तय भएको नेपाली काँग्रेस वराहक्षेत्रका सभापति रमेश कार्कीले बताए । कार्यक्रममा रक्तदान, स्वास्थ्य शिविर समेतको कार्यक्रम गरिने र सहभागी हुन नगर सभापति कार्कीले आग्रह समेत गरेका छन् ।
नेपाल कै होचो भू-भाग झापाको केचनकवलबाट सुरु ‘केचनकवल-सगरमाथा जागरण अभियान’ विश्वको अग्लो भू-भाग सोलुखुम्बु जिल्लाको सगरमाथाको आदर शिविरमा सम्पन्न हुनेछ । सोही अभियान अन्तर्गत वराहक्षेत्रको चतरामा माघ २८ गते सोमवार कार्यक्रम हुनेछ ।
कार्यक्रममा नेपाली काँग्रेस पूर्व उपसभापति विजय कुमार गछ्यदार, प्रभावशाली नेता पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित सुनसरीबाट प्रतिनिधित्व गर्नु हुने केन्द्रीय सदस्यहरू, कोशी प्रदेश कार्यसमितिका पदाधिकारीहरू, प्रतिनिधि सभाका सदस्यहरू, प्रदेश सभा सदस्यहरू, जिल्लाका सभापति तथा पदाधिकारीहरूको कार्यक्रममा उपस्थिति रहने नेपाली काँग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री उमेश थापाले बताए ।