धरान : धरान-५, देउराली सौगात चोकमा प्रेरणा कल्याणकारी समाजको भवन बनाउन श्रमदान गरिरहेका १७ जना अमेरिकी नागरिकलाई इलाका प्रशासन कार्यालय धरानले सोधपुछ गरी उनीहरूको पासपोर्ट छानबिनका लागि गृह मन्त्रालय, अध्यागमन विभागमा पठाएको छ ।
उनीहरूसँग रहेका भारत पश्चिम बंगालका नेपाली वसन्त लामालाई पनि प्रशासनले अनुसन्धानको दायरामा राखेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पुष्टि गरेका छन् ।

धरानमा श्रमदानको निहुँमा धर्म प्रचार गरेको आरोपमा अमेरिकीहरू पक्राउ परेका भनी मिडियामा समाचार आएपछि प्रजिअ मिश्र सँग सम्पर्क गर्दा उनले भने ‘अमेरिकन व्यक्ति धर्मको प्रचार गरे भनेर पक्राउ भएका होइन गलत समाचार आयो ।’
उनीहरू टुरिस्ट भिसामा नेपाल भित्रिएका हुन, श्रम गरिरहेको छन् भन्ने सूचना पाए अनुसार इलाका प्रशासन धरानमा उनीहरूलाई‘ तत्काल बोलाएर सोधपुछ मात्र गरिएको बताउँदै सोधपुछ गर्दा कुनै कसुर नदेखिएको र ओभर स्टेपनि नभेटिएको बताए ।
प्रजिअ मिश्रले भने ‘कसुर नभेटिएकाले उनीहरूको पासपोर्ट बरामद गर्दै विवरण सहित पासपोर्ट गृह मन्त्रालय र अध्यागमन विभाग पठाएका छौँ, खोज अनुसन्धान भईरहेको छ ।’
अमेरिकन नागरिकहरूले श्रमदान गरिरहेको भवनलाई स्थानीय केही व्यक्तिहरूले ‘चर्च’ बनाएको भनी सूचना गरेको तर केहीले सामाजिक भवन बनाएको भनेको उल्लेख गर्दै प्रजिअ मिश्रले भवन चैँ नियमसँग र विधि अनुसार बनेको हो कि हाईन भन्ने कुरा प्रमुख भएको बताए ।
प्रशासनले छानबिनका लागि पासपोर्ट नियन्त्रणमा लिएका अमेरिकी नागरिकहरूमा यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, मार्क अलान समर्स म्याथ्यु ब्रायन केनेडी, प्याट्रिक इरभिन समर्स, डुआन माइकल गोडलिङ, बेन्यामिन वार्ड कौफ म्यान छन् ।
यस्तै ब्रायन वार्ड कौफ म्यान, डिलन ज्याक्सन बोन्जो, क्याथलिन सु मूर, डासन एन्ड्रु कार्टर, जेम्स नाथन अस्टिन, विलियम रेमन्ड भिभियानो जुनियर, केनेथ डेभिड ग्रे र जेम्स रे मर्फी थर्ड र भारत पश्चिम बंगालका बसन्त लामा प्रशासनको अनुसन्धानको दायरामा रहेको प्रजिअ मिश्रले पुष्टि गरेका हुन ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले भने ‘अमेरिकी नागरिकलाई पक्राउ गरिएको होइन सामान्य सोधपुछ कालागि झिकाइएको मात्र हो, ’सोधपुछपछि छोडिएको छ । गलत प्रचार समाजमा गएको होला ।