धरान : २५ औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेसँगै न्युरोड टिम (एनआरटी) ले उपाधिमा ह्याट्रिक गरेको छ ।

शनिवार धरान रङ्गशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २-१ ले पराजित गर्दै एनआरटीले उपाधिमा ह्याट्रिक गरेको हो । एनआरटीले १० औँ संस्करण र २४औँ संस्करणमा पनि बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो ।

उपाधिसँगै एनआरटीले नगद १० लाख पुरस्कार प्राप्त गर्दा उपविजेता भएको चर्च ब्वाइजले नगद ५ लाख पुरस्कार जितेको छ । प्रतिस्पर्धात्मक खेलमा अग्रता भने चर्च ब्वाइजले लिएको थियो । खेलको २४ औँ मिनेटमा रोहन कार्कीको फ्रिकिकलाई कप्तान अनन्त तामाङले हेड गोल गरेका थिए ।

गोल खाएको तीन मिनेट नबित्दै एनआरटीले बराबरी गर्‍यो । खेलको २७ औँ मिनेटमा एनआरटीका रोबर्टले प्रहार गरेको कर्नरमा चर्च ब्वाइजका गोल किपर क्रिसल मोक्तानले पञ्च गर्न नसक्दा डिबक्स भित्र रुमल्लिएको बललाई हेनरी पोकोले जाली चुमाएका थिए ।

खेलको म्यान अफ द म्याच एनआरटीका हेनरी पोको घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । उनै हेनरीले नै एनआरटीका लागी दोस्रो गोल गरे । खेलको ५८औँ मिनेटमा चर्च ब्वाइजका डिफेन्स डिका सेर्गेबाट बल खोस्दै उनले उत्कृष्ट गोल गरेका थिए । 

शिशिर लेखी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित

व्यक्तिगत विधातर्फ पनि एनआरटीले वर्चस्व कायम गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित भए । उनलाई नगद एक लाख पुरस्कार प्रदान गरिएको थियो ।

हाइस्कोर चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्माण्ड भिदोंग घोषित भए । उनीहरूले समान ३ गोल गरेका थिए । उनीहरूलाई नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै गरी प्रतियोगिताको बेष्ट गोल किपर एनआरटीका प्रमिजय गच्छदार, बेष्ट कोच एनआरटीका हरिओम श्रेष्ठ, बेष्ट फरवार्ड चर्च ब्वाइजका समीर तामाङ, बेष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, बेष्ट मीड फिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए । उनीहरूलाई जनही नगद २५  हजार पुरस्कार प्रदान गरिएको छ ।

NRT-championNRT-10th-budhasubba