धरान : भोली शनिवार हुने फाइनल खेलमा २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको उपाधिका लागि एनआरटी र मोरङ फुटबल एसोसिएसन बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रवार रङ्गशालामा पत्रकार सम्मेलनमा फाइनलमा पुगेको दुवै टिम एनआरटी र एन्फा मोरङले गोल्डकप उपाधि चुम्ने दाबी  गरेका छन् ।

बुढासुब्बा गोल्डकपको १० औ संस्करणको उपाधि उचालेको एनआरटीले २४ औँ संस्करणमा आइपुग्दा दोस्रो पटक उपाधि नजिक पुगेको हो भने मोरङ पहिलो पटक फाइनल पुगेको छ ।

एनआरटी बुढासुब्बा गोल्डकपको विजेता क्लब हो । विभागीय त्रिभुवन आर्मी र गत वर्षको उपबिजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै फाइनलमा पुगेको एनआरटीले दोस्रो पटक उपाधि उचाल्ने दाबी गरेको छ ।

एनआरटिले यो सिजनमात्र ६ वटा प्रतियोगितामा सहभागी भइसकेकोले पनि फाइनल खेलमा प्रतिस्पर्धा गर्न सहज भएको टिम म्यानेजर राकेश लामाले बताए ।

उनले खेलको अनुभवलाई प्रतिस्पर्धाको रणनीतिमा फिल्डमा उतार्दै उपाधि चुम्ने दाबी रहेको बताए ।

एनआरटिमा २ जना विदेशी खेलाडी रहेको म्यानेजर लामाले बताए । काठमाडौँमा सम्पन्न केपी ओली कपको पनि उपबिजेता रहेको एनआरटीले मोरङसँग रोचक खेल हुने उनले बताएका छन् ।

यता, चार पटकको विजेता नेपाल पुलिस र आयोजक धरानलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको मोरङ उपाधि जितेर इतिहास बनाउने आत्मविश्वास रहेको टिम कोच सानू लामाले बताए ।

उनका अनुसार ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको मोरङको लागि एनआरटीलाई कडा प्रतिस्पर्धीको रूपमा ग्राउन्डमा सामना गर्ने तयारी गरिएको छ ।

धरान फुटबल क्लबको आयोजनामा शनिवार धरान रङ्गशालामा हुने फाइनल खेलको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ ।

NRT-10th-budhasubba

Prematch-2-budhasubba