धरान : पर्यटक भिसाको अवज्ञा गर्दै धरान-५ देउराली दशघरे लाईनमा प्रेरणा सामुदायिक कल्याणकारी संस्थाको भवन निर्माणमा श्रमदान गरेका १७ जना अमेरिकी नागरिक स्वदेश फर्किएका छन् ।
ईलाका प्रशासन कार्यालय धरानका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीका अनुसार १७ जना अमेरिकन २०२५ फ्रेबअरी १ तारिख नेपाल उत्रिएका थिए । उनले भने ‘भिसाको अवज्ञा गरि श्रम गरिरहेका उनीहरूलाई सोधपुछ गरी पासपोर्टको फोटो छानबिनका लागि गृह मन्त्रालय, अध्यागमन विभागमा पठाइएको हो ।’

रेग्मीका अनुसार १५ दिनको भिजिट भिसामा नेपाल आएका उनीहरूलाई भारतीय नागरिक बसन्त लामाले समन्वय गरि धरान-५ प्रेरणा सामुदायिक भवनमा श्रम गर्न पुर्याएको पाईएको थियो । भिजिट भिसामा काम गर्न नपाइने नियमको अवज्ञा भएकोले उनीहरूका बारे अध्यागमनमा जानकारी गराइएको थियो ।
सहायक प्रजिअ रेग्मीले भने ‘अध्यागमन र गृहमन्त्रालयले अनुसन्धानको प्रक्रिया कहाँ सम्म पुर्याएको छ रिपोर्ट हाल सम्म आएको छैन ।’
सामुदायिक भवन इसाईहरूको : वडाध्यक्ष लिम्बू
अमेरिकनहरूले श्रमदान गरेको प्रेरणा सामुदायिक कल्याणकारी भवन इसाई धर्मावलम्बी समुदायले सञ्चालन गरेको धरान-५ का वडाध्यक्ष मनप्रसाद लिम्बूले बताएका छन् । भवन निर्माणको सिफारिस वडाध्यक्ष आफैले दिएका हुन । उनले भने ‘संस्थाले वडाबाट सिफारिस मागेकोले दिएको हुँ ।’
अमेरिकन नागरिकले श्रमदान गरिरहेको छन् भनेर अख्तियारबाट फोन आएपछि मात्र आफूले त्यहाँ विदेशी आएर काम गरेको थाहा पाएको उनको भनाई छ ।
वडाध्यक्ष लिम्बूका अनुसार वडामा सुविधायुक्त भवन नभएकोले संस्थाले वृद्धवृद्धा र महिला तथा बालबालिकालाई तालिम सञ्चालन गर्ने भवन बनाउन श्रमदानको लागि निवेदन दिएकाले श्रमदान गर्न सिफारिस दिएको बताए ।
भवन बनाउन ईजाजत लिएका छ छैन भन्ने बारेमा भने वडाध्यक्ष लिम्बूले भने ‘उपमहानगरपालिकाबाट सिफारिस लिएको होला ।’
क्रिश्चियन समुदायको भवन होइन : सचिव शेर्पा
संस्थाको भवन निर्माण गर्न अमेरिकी नागरिकहरूले २ दिन श्रमदान गरेका हुन । तर भवन इसाई समुदायको मात्र नभएको संस्थाका सचिव ज्ञानु शेर्पाले बताए । उनका अनुसार संस्थाले गरिब, पछाडिएका महिला बालबालिकाको सिपमूलक तालिमहरू गर्दे आएको छ । २०८१ मा प्रेरणा सामुदायिक कल्याणकारी संस्थामा नामक संस्था दर्ता गरेर जग्गा खरिद गरि संस्थाले भवन बनाउन सुरु गरिएको हो ।
सचिव शेर्पाले भवन बनाउन आर्थिक अभाव भएपछि भारतका साथीलाई सम्पर्क गर्दा उनले आर्थिक तँ सहयोग गर्न गाह्रो छ, साथीहरू अमेरिका देखी आएका छन् उनीहरूलाई श्रमदान गर्न पठाउँला भनी उनीहरू श्रमदान गर्न पठाएको बताए ।
१५ दिनको भिजिट भिसामा नेपाल आएका अमेरिकीहरू १ हप्ता ईटहरीको वरर्णा होटलमा बसेका थिए । उक्त अवधिमा बेतना सिमसार, भेडेटार, नमस्ते झरना १-१ घुमेको शेर्पाले बताए ।
मुक्कुमलुङको बन्दले यातायात बन्द भएको २ दिन श्रमदान गरेका उनीहरू हाल अमेरिका फर्किसकेको उनको भनाई छ ।
संस्थाको अध्यक्ष रणविर तामाङ इसाई धर्मावलम्बी हुन । उनले भने ‘तर संस्था क्रिश्चियन होइन ।’ उनले धेरै मिडियामा धार्मिक प्रचार गरेको आरोपमा अमेरिकन पक्राउ भन्ने समाचारमा संस्थालाई नै धार्मिक भनिएकोमा आपत्ति जनाए ।
सामाजिक संस्था क्रिश्चियनले सञ्चालन गरेको हो : पूर्व अध्यक्ष
पूर्व अध्यक्ष मचिन्द्र लावतीले संस्थाले महिला बालबालिकाको क्षेत्रमा काम गरे पनि संस्था क्रिश्चियनहरूले सञ्चालन गरेको बताए ।
उनले भने ‘अमेरिकनहरू धर्म प्रचार गर्न आएका चैँ बिल्कुल होइनन् ।’ उनीहरू ताप्लेजुङ जान आएका थिए । तर यातायात बन्द भएकाले श्रमदान गरेको लावतीको भनाई छ । उनका अनुसार उनीहरूलाई २३ गते ईलाका प्रशासनले सोधपुछ गर्न बोलाएपछि २४ गते बिहीबार साँझ नै अमेरिका फर्किसकेका छन् ।