इटहरी : इटहरीको ग्रिनपिस एकेडेमी र ग्रिनपिस लिङ्कन कलेज (नमुना कलेज)ले शैक्षिक प्रदर्शनीको आयोजना गरेको छ । इटहरी स्थित ग्रिनपिस एकेडेमीको खेल मैदानमा आयोजित प्रदर्शनीमा विद्यार्थीले तयार पारेका शैक्षिक सामग्रीको प्रदर्शन गरिएको हो ।

विभिन्न संकायका विद्यार्थीले आफ्नो शैक्षिक ज्ञान अनुसारको अनुभव आदानप्रदान गरेका छन् । विज्ञान तथा प्रविधि, कृषि, शिक्षा, खाद्यान्न, स्वास्थ्य, कला तथा साहित्य, हस्पीटालीटी लगायत विधाका विद्यार्थीले सोही अनुसारको सामाग्री तयार पारेका हुन् ।

सामाजिक कुप्रथा र कुरीति विरुद्ध आवाज उठाउनुपर्ने सन्देश सहितका पोष्टर र ब्यानर विद्यार्थीले देखाए । वैज्ञानिक सिँचाई विधि देखि सुशासन मैत्री प्रशासनको तरिका बारे विद्यार्थीले अवलोकनकर्तालाई बुझाउने प्रयास गरेका छन् ।

नमुना कलेजले ज्ञान र सिपलाई जोड्नको लागि प्रदर्शनी मार्फत विद्यार्थीको क्षमता र आत्मविश्वास बढाउन लागेको बताएको छ । प्रदर्शनीमा छोराछोरीको कला हेर्न अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो । नमुना कलेजको २५औँ स्थापना दिवसको अवसरमा आयोजित एक दिने प्रदर्शनीमा एक सय वटा स्टलहरू रहेका छन् ।

२०५६ सालमा स्थापना भएको ग्रिन पिस एकेडेमी थप स्तर उन्नति गर्दै २०७० सालबाट इटहरी नमुना कलेजको रूपमा विकास भयो । मलेसियाको लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन पाएर ग्रिनपिस लिङ्कन कलेजको रूपमा नमुना कलेज परिचित छ ।

namuna 2Namuna-College-another-phot