धरान : धरानमा जारी प्रदेश प्रिमियर लिगमा धनकुटाको देउराली यूथ क्लब शीर्ष स्थानमा उक्लिएको छ ।
मङ्गलवार धरान रङ्गशालामा भएको खेलमा पाँचथर युनाइटेडलाई ७-० ले पराजित गरेसँगै ४ अङ्क सहित देउराली यूथ क्लब शीर्ष स्थानमा उक्लिएको हो । समान ४ अङ्क भएको उदयपुरको गाईघाट फुटबल क्लब भने गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

देउरालीकालागी समीर लिम्बूले ह्याट्रिक गरे भने दिपेन शाक्यले २ गोल तथा विरेन लिम्बू र ज्ञानेन्द्र भण्डारीले एक एक गोल गरे । खेलको म्यान अफ द म्याच घोषित भएका समीर लिम्बूले नगद ५ हजार पुरस्कार प्राप्त गरे । देउराली यूथ क्लबले खेलको सुरुवातदेखि नै पाँचथरलाई दबाबमा राखेको थियो । पराजित भएको पाँचथर युनाइटेड अङ्क तालिकाको पुछारमा पुगेको छ । पाँचथरको दुई खेलबाट १ अङ्क रहेको छ ।
मङ्गलवार नै भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबले खोटाङको बुइपा-११ लाई २-० ले पराजित गर्दै ४ अङ्क सहित अङ्क तालिकाको दोस्रो स्थानमा रहन सफल भएको छ । गाईघाटकालागी प्रविन राईले दुवै गोल गरे । उनले पहिलो हाफको अन्तिम दुई मिनेटमा दुई गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच समेत घोषित भएका प्रविन राईलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो । पराजित भएको बुइपा–११ भने १ अङ्क सहित अङ्क तालिकाको तेस्रो स्थानमा रहन सफल भएको छ ।
लिगमा बिहीबार बिहान धरान रङ्गशालामा पाँचथर र गाईघाट तथा दिउसो देउराली र बुइपा-११ बिच खेल हुनेछ भने उक्त खेलले लिगको विजेता उपविजेताको टुङ्गो समेत लाग्नेछ ।
प्रतियोगितामा ११ जिल्लाका लिग च्याम्पियन क्लबहरूबिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए । लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।