इटहरी : १५औँ संस्करणको इटहरी गोल्ड कपमा  मच्छिन्द्र फुटबल क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको छ ।

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा युनाइटेड फुटबल क्लब खर्साङ (दार्जिलिङ) लाई पराजित गर्दै मच्छिन्द्रले फाइनलको यात्रा तय गरेको हो ।

बुधवार भएको पहिलो सेमिफाइनल खेलमा ३-१ गोल अन्तरले पराजित दार्जिलिङ घर फर्किएको छ । पहिलो हाफमा दुवैतर्फबाट गोल हुन नसके पनि दोस्रो हाफमा मच्छिन्द्रले ३ गोल बर्षायो ।

दोस्रो आफमा दार्जिलिङका हेमराज भुजेलले सुरुवाती गोल गरे । लगत्तै मच्छिन्द्रका विदेशी खेलाडी ओमलोजाले गोल फर्काए । त्यसपछि मच्छिन्द्रका मल्लिकले लगातार दुई गोल गरेर ३-१ को गोल अन्तरले टिमलाई विजयी गराए ।

खेलको म्यान अफ दि म्याच समेत भएका मल्लिकले दस हजार नगद प्राप्त गरेका छन् ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रका गोलकिप्परले अधिकतम गोल बचाएका थिए । गोल किप्परको कुशलताले मच्छिन्द्रलाई हौसला मिलेको थियो ।

बिहीबार हुने अन्तिम सेमिफाइनल खेल धरान फुटबल क्लब र सगरमाथा यूथ क्लब मोरङ बिच हुने भएको छ ।