धरान : पूर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्र उपाध्यक्ष नारायण काजी श्रेष्ठले प्रतिगमन मुर्दावाद मात्र भनेर संविधान र लोकतन्त्र रक्षा नहुने बताए ।
बिहीबार पार्टी कार्यकर्ता भेटघाटमा धरान आएका पूर्व गृहमन्त्री पार्टी उपाध्यक्ष श्रेष्ठले लोकतन्त्रको रक्षा गदै समृद्ध नेपाल बनाउन हाल प्रतिपक्षको दलको भूमिका निर्वाह गदै आएका हुन् ।

उनले लोकतन्त्रलाई असफल बनाउन खोज्ने प्रतिगमनकारीहरूको प्रयासलाई असफल बनाउन चुनौती पर्ने रहेको बताए । सञ्चारकर्मीहरूको प्रश्नलाई कटाक्ष गदै पूर्व गृहमन्त्री श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहले मलाई सहयोग गर्नु भन्दै जनता माझ जानुपर्ने कुराको कुनै अर्थ नरहेको बताएका छन् ।
उनले पूर्व राजाले मात्र यस्तो भन्न सकेनन् होला भन्दै उनले यस्तो भन्नुको पछाडि राजतन्त्र पक्षधर शक्तिहरूको आडमा भनेका होला किनकि राजतन्त्र नेपाली जनताले हेरिसकेको र कठिनाइहरू भोगी सकेका छन् । तर अहिले राजा र राजतन्त्र पक्षधर शक्तिहरू सलबलाएर 'जनताको माझ' जाने परिस्थिति आउनुको पछाडि हामी आफै नेपालका लोकतान्त्रिक शक्तिहरूले परिवर्तनको पछाडि भएका राजनैतिक परिवर्तनलाई नेपाली जनताको सामाजिक, आर्थिक रूपान्तरणमा विकास र समृद्धि तीव्र पारेर नेपाली जनताको जीवन फेर्ने काम र राजनैतिक परिवर्तनबाट राजनैतिक अधिकार मात्र पाएको होइन जीवन फेरियो र नयाँ नेपाल प्राप्त भयो भन्ने स्थितिमा पुर्याउन नसक्दा खेरी पैदा भएको प्रतिक्रिया रहेको बताए ।
श्रेष्ठले जोड दिँदै भने 'नेपाली जनताले राजनैतिक परिवर्तन मात्र नेताहरूको दिमाग समय सापेक्ष परिवर्तन गर्दै देश विकास र समृद्धि चाहेका छन् ।' नेपाललाई तीव्र विकास र समृद्धिको फड्को बिन्दुमा पुर्याए मात्र लोकतन्त्रको रक्षा हुने बताए । उनले लोकतन्त्रको रक्षा त्यत्ति बेला मात्र हुन्छ जब लोकतन्त्रको प्रतिफल आम जनतालाई दिन सकिन्छ भन्ने बताए ।
उनले भने 'आम जनता नै लोकतन्त्र बचाउन तत्पर भएपश्चात् मात्र लोकतन्त्र मार्फत सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र बनाउँदै विकास र समृद्धिको फड्को बिन्दुमा पुग्न सकिन्छ ।'
नेता श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतङ्कित पारेको बताए । उनले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि बोल्नै नपाउने गरी नियन्त्रण गर्न खोज्दा नागरिक आतङ्कित भएको बताएका हुन् ।
प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी विधेयकले निरङ्कुशताको झल्को दिएको उनले बताए । त्यस्तै श्रेष्ठले संविधानको सकारात्मक अन्तर्वस्तुलाई प्रहार गर्ने अभिशायले संविधान संशोधन गर्न खोजिएको समेत धारणा राखे । सत्तारुढ दलका नेताहरूले नै दुई दलीय व्यवस्थाको पक्षमा खुलेर लागेको अवस्थामा देश निरङ्कुशतामा जान सक्ने सङ्केत देखिएको उनले बताए ।
उनले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउनका लागि सरकार गम्भीर नदेखिएको बताए ।