विराटनगर : माध्यमिक तहका विद्यार्थीहरूमा विज्ञानप्रति रुचि बढाउन विराटनगरमा अन्तर विद्यालय प्रतियोगितात्मक विज्ञान प्रदर्शनी आयोजना गरिएको छ ।

प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका प्रत्येक विद्यालयबाट १ जना छात्रा सहित ५ जना सहभागी रहेका छन् । प्रदर्शनी विराटनगर महानगरपालिकाले आयोजना गरेको हो । प्रदर्शनीमा ४७ वटा विद्यालय सहभागी छन् ।

प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय हुने विद्यालयलाई २० हजार, १५ हजार, १० हजार र सान्त्वना पुरस्कार ५ हजार नगद, ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ ।

५ विधामा उत्कृष्ट हुने विद्यालयलाई प्रोत्साहन पुरस्कार २/२ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ ।

२०७६ देखि चल्दै आएको प्रदर्शनी गत वर्ष १० हजार भन्दा बढीले अवलोकन गरेका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले बताए । उनका अनुसार यस वर्ष १५ हजारभन्दा बढी विद्यार्थीले प्रदर्शनी अवलोकन गरेका छन् ।

आदर्श माविमा सुरु भएको प्रदर्शनीको शुक्रवार आयोजित एक समारोहबिच महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् ।

उनले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताए ।

महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै मेयर कोइरालाले भने ‘विद्यार्थीहरू खोज अनुसन्धानमा लाग्नुस् महानगरपालिका सधैँ तपाईँहरूको साथ रहन्छ ।’

उपमेयर शिल्पा निराला कार्कीले यस्ता प्रदर्शनीले विज्ञान र प्रविधिमा चासो राख्ने विद्यार्थीलाई अगाडि बढ्न सहयोग पुग्ने बताइन् ।

जिल्ला शिक्षा समन्वय मोरङका निमित्त प्रमुख जीवन गड्तौला, महानगर सामाजिक विकास समिति संयोजक काजीबहादुर बस्नेत, वडा १० अध्यक्ष अर्जुन गिरी, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, विराटनगर अध्यक्ष अमित ढकाल, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, प्याब्सन विराटनगर अध्यक्ष अर्जुन श्रेष्ठ लगायत उद्घाटनमा उपस्थिति थिए ।

प्रतियोगिताको निर्णायकमा मेची क्याम्पसका प्राध्यापक सरोज नेपाल प्रमुख निर्णायक रहेको समिति छ । समिति आजै शुक्रवार साँझ पुरस्कृत विद्यालयहरूको नाम सार्वजनिक गर्नेछ ।

स्मार्ट साइन्स, एग्रिकल्चर र इनोभेसनलाई आधार मानेर निर्णय गरिने प्रमुख निर्णायक नेपालले बताए । हिसान मोरङ, प्याब्सन विराटनगर, एन-प्याब्सन विराटनगर र नगर बाल क्लब सञ्जालले विज्ञान प्रदर्शनीमा सहकार्य गरेका छन् ।