धरान : अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा किरात बाम्बुले राई भाषाको पत्रिका लिब्जु भुम्जुका सम्पादक गणेश राई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ बाट पुरस्कृत भएका छन् ।
प्रतिष्ठानद्वारा आयोजित २५औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवस कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र प्रतिष्ठानका कुलपति भूपाल राईले गणेश राईलाई १ लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरेका हुन ।

प्रतिष्ठानले सृजनाका माध्यमबाट पहाडी र हिमाली क्षेत्रमा बोलिने नेपाली, वाम्बुले भाषा, साहित्य संरक्षणमा योगदान दिँदै आएका राईलाई सम्मानित गरेको हो । राईले गोरखापत्रमा बाम्बुले राई भाषाको पृष्ट संयोजन पनि गर्दै आएका छन् ।
सोही अवसरमा कमलसिंह रानाथारु १ लाख रुपैयाँको नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट पुरस्कृत भएका छन् । तराई मधेस क्षेत्रमा बोलिने मातृभाषा रानाथारुको साहित्य सम्बृद्धिमा योगदान पुर्याएकोमा उनलाई पुरस्कृत गरिएको हो ।
थारुले पनि गोरखापत्रको बहुभाषिक पृष्ठमा थारु भाषा पृष्ठका संयोजन गर्दै आएका छन् ।