इटहरी : राष्ट्रिय जागृति क्लबले आयोजना गरेको इटहरी गोल्डकपको उपाधि मछिन्द्र फुटबलले हात पारेको छ ।
शनिवार सम्पन्न १५ औँ संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा सगरमाथा यूथ क्लबलाई हराउँदै मछिन्द्रले उपाधि चुमेको हो । मछिन्द्रको तर्फबाट मलिक युसुफ र ओमुलाजा नुरैन हरिमले गरेको गोल निर्णायक बन्यो ।

सगरमाथालाई २-० गोल अन्तरले पराजित गरेको मछिन्द्रले क्लबले नगद १० लाख सहित च्याम्पियनको ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको सगरमाथाले नगद ५ लाख र ट्रफी प्राप्त गरेको छ ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न फाइनल खेल निकै प्रतिस्पर्धात्मक रह्यो । खेलको म्यान अफ द म्याच सगरमाथा यूथ क्लबका कप्तान अशोक खवासले १० हजार नगद र ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि सगरमाथा यूथ क्लबकै कुलदिप कार्की घोषित भए । उनले नगद १ लाख र ट्रफी हात पारेका छन् ।
सर्वोत्कृष्ट गोलरक्षक मछिन्द्रका विशाल श्रेष्ठ भए भने शनिस श्रेष्ठले उत्कृष्ट डिफेन्डरको उपाधि पाए । विशाल घलान उत्कृष्ट मिडफिल्डर घोषित भए भने मलिक युसुफ उत्कृष्ट फरवार्ड, सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनीहरूले जनही नगद २० हजार र ट्रफी प्राप्त गरे ।