इटहरी : कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले माध्यमिक तह सम्मको शिक्षाको जिम्मेवारी पाएको स्थानीय तहले शिक्षामा उचित लगानी नगरेको बताएका छन् ।

इटहरी-५ स्थित मकालु इङ्लिस बोर्डिङ स्कुलले २४ वार्षिकोत्सवमा उनले भने ‘संविधानमा माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई भएता पनि स्थानीय तहको व्यवहारले गर्दा अहिले त्यो गलत साबित हुँदै गएको छ ।’

संविधान बनाउँदा माध्यमिक तहसम्मको जिम्मा स्थानीय तहलाई दिँदा पालिकाले शिक्षामा उचित सहयोग गर्ला भनेर सोचिएको थियो तर, अहिले प्रदेश वा सङ्घले लिनुपर्ने आवाज उठिरहेको उनले बताए ।  मन्त्री भण्डारीले भने ‘अब संविधान संशोधन नगरीकन त्यो सम्भव छैन ।’

भण्डारीले सङ्घले शिक्षा ऐन पारित गरेपछि कोशी प्रदेश सरकारले पनि नयाँ शिक्षा नीति तयार गर्ने बताउँदै भने ‘शिक्षा क्षेत्रमा प्रदेशको अधिकार छैन, यद्यपि अहिले पनि कोशी प्रदेश सरकारले केही न केही सहयोग गरी नै रहेको छ ।’

उनले निजी शिक्षालयले शिक्षामा योगदान नगर्ने हो भने सरकारी बजेटले धान्न नसक्ने अवस्था भएको बताउँदै राज्यलाई निजी शिक्षालयले आर्थिक हिसाबले पनि योगदान गरेको उल्लेख गरे ।

पत्रकार खड्कालाई सम्मान 

वार्षिकोत्सवको अवसरमा पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका वरिष्ठ पत्रकार अमर खड्का गरिएको छ । सोही अवसरमा पूर्व विद्यार्थी डा. उज्ज्वल पौडेल र इन्जिनियर सुभाष आचार्य सम्मानित भए ।

स्कुलका सहायक प्रिन्सिपल मणी पौडेल र शिक्षिका सानु शेर्पालाई सहित ७० वर्ष नाघेका ज्येष्ठ नागरिक अभिभावकहरूलाई पनि सम्मान गरियो ।

सम्मानित हुनेमा रत्नमाया कार्की, हीरालाल दर्जी, दिलमाया कार्की, पदमबहादुर विष्ट, रत्नमाया ढकाल, रुकमणी दुलाल, हरिमाया अधिकारी, गणेश गिरी लगायत छन् । सम्मानितहरूलाई मन्त्री भण्डारी र इटहरी उपप्रमुख सङ्गीता चौधरीले दोसल्ला र सम्मानपत्र प्रदान गरिन् ।

मकालु स्कुलका सञ्चालक, प्रिन्सिपल थानेश्वर (नेल्शन) ढकालको सभापतित्वमा भएको कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले सिकेको सैद्धान्तिक ज्ञानको प्रयोगात्मक अभ्यास शैक्षिक प्रदर्शनी गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा ‘शिक्षा जीवनको साधन र सारथि हो’ नाराका साथ शुक्रवार र शनिवार शैक्षिक प्रदर्शनी भएको हो ।

makalu-school-news