धरान : शारीरिक सङ्गठनका अन्तर्राष्ट्रिय निर्णायक राजभगत प्रधानाङ्गको स्मृतिमा आयोजित पहिलो मेन्स वुमेन्स स्ट्रेन्थ एण्ड इङकलाइन ब्रेम्चप्रेस च्याम्पियनसिपका ओभर अल उपाधि महिला तर्फ कोपिला गिरि र शोभा तामाङ, पुरुष तर्फ सागर टन्डन र विष्णु लामाले चुमेका छन् ।

प्रतियोगिता धरान फिटनेस क्लबले आयोजना गरेको हो । प्रतियोगितामा कोपिलाले १५० केजी तौल उचालेकी थिइन् । जुनियर विधामा सागरले ३९० केजी तौल उचालेका थिए ।

इङकलाइन ब्रेम्चप्रेसमा महिला तर्फ शोभा तामाङ र पुरुष तर्फ विष्णु लामाले उपाधि जितेका छन् । शोभाले १०२ केजी तौल उचालेकी थिइन् । सिनियर विधामा विष्णुले २०९ केजी तौल उचालेका थिए ।

ओभर अल विजेता वनेका उनीहरूलाई वडिविल्डिङ सङ्घका केन्द्रीय सदस्य विक्रम लिम्बू, कोशी प्रदेश अध्यक्ष केशव श्रेष्ठ, लायन्स लिडर धिरज गुरुङ, लायन्स रेखा गुरुङले जनही नगद ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरे ।

बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, धरान फिटनेस क्लबका सञ्चालक कविरभगत प्रधानाङ्ग र कृति श्रेष्ठ लगायतको उपस्थिति थियो ।

सोही अवसरमा विजेता, उपविजेता सहित ५४ जना खेलाडीहरूलाई धरान फिटनेसले ३ महिना, २ महिना र १ महिना निःशुल्क छात्रवृत्ति प्रदान गरेको छ ।

स्वर्गीय प्रधानाङ्ग धरान-७ स्थित धरान फिटनेस क्लबका संस्थापक पनि हुन् । उनको स्मृतिमा आइतबार सम्पन्न प्रतियोगितामा जुनियर, सिनियर, मास्टर वान र मास्टर टु विधामा  विभिन्न तौल र उमेर समूहमा ६७ जना सहभागी थिए ।

गत: शुक्रवार देखी शुरु क्लबका खेलाडीहरूको प्रतियोगितामा १६ देखी जुनियरमा १५ देखि २५ वर्ष, सिनियरमा २५ देखि ४०, मास्टर वानमा ४० देखि ५० र मास्टर टुमा ५० देखि ६० वर्ष उमेर समूह सहभागी थिए ।