धरान : वडा स्तरीय धरान-१९ अन्तरक्लब बास्केटबल प्रतियोगिताको उपाधि महिला तर्फ यलम्वर क्लब र पुरुष तर्फ झुनाज फिटनेसले चुमेको छ ।

हरियाली सामुदायिक वनको बास्केटबल कोर्टमा शनिवार भएको फाइनल खेलमा महिला तर्फ यलम्वर क्लबले रेड डेभिल्स क्लबलाई ३८-२४ अङ्कले सहज जित निकालेको थियो ।

युवा जागृति क्लबद्वारा आयोजित प्रतियोगिता फागुन १४ देखी सञ्चालन भएको थियो । शनिवार भएको फाइनल खेलमा पुरुष तर्फ प्रतिस्पर्धात्मक खेलमा झुनाज फिटनेसले आयोजक युवा जागृति क्लबलाई ६५-५८ अङ्कको अन्तरले जित निकालेको थियो ।

महिला तर्फको फाइनल खेलमा यलम्वर र रेड डेभिल्सले प्रत्येक क्वाटरमा ४-७, ११-१, ७-५ र १६-११ अङ्क जोडेका थिए । झुनाज फिटनेस र युवा जागृति क्लबले प्रत्येक क्वाटरमा १३-९, १२-१५, २३-११ र १७-२३ अङ्क जोडेका थिए ।

यलम्वर क्लबले उपाधि सहित नगद ६ हजार रुपैयाँ, ट्रफि, मेडल प्राप्त गर्याे । उपविजेता रेड डेभिल्सले नगद ३ हजारमा चित्त बुझाउनु पर्‍यो ।

पुरुष तर्फ झुनाज फिटनेसले नगद १० हजार, ट्रफि, मेडल प्राप्त गरेको छ । उपविजेता युवा जागृतिले नगद ५ हजारमा चित्त बुझाउनु पर्‍यो ।

एमभिपि मोस्ट भ्यालुएवल प्लेयरको उपाधि महिला तर्फ यलम्वरका निवा चेम्जोङ र पुरुष तर्फ झुनाज फिटनेसका सर्वधन राई घोषित भए । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका निवा चेम्जोङले व्यक्तिगत १६ अङ्क जोडेका थिए । पुरुष तर्फ सर्वधन राईले ३२ अङ्क जोडेका थिए ।

समापनमा विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, प्रतियोगिता संयोजक रञ्जित लिम्बू, पूर्व महिला बास्केटबल खेलाडी झुना राई, पूर्व राष्ट्रिय खेलाडी सुदन थापा, पूर्व बास्केटबल खेलाडी प्रशान्त थापाले पुरस्कार वितरण गरे ।