धरान : वडाको शैक्षिक सुधार गर्न धरान-१२ वडा कार्यालयले सामुदायिक र संस्थागत विद्यालयको निगरानी गर्न सोमबार देखि अनुगमन सुरु गरेको छ ।

वडाले शैक्षिक सुधारका लागि  समुदायका व्यक्तिहरूलाई भूमिका सक्रिय बनाउन वडाको विद्यालयसँग जबाफदेहिता प्रदान अनुगमन थलिएको हो ।

पहिलो अनुगमन सोमवार धरान-१२ स्थित पब्लिक स्कुलबाट सुरु गरियो । सहायक प्रअ लेखनाथ भट्टराई, शिक्षक मोहन श्रेष्ठ लगायतसँग स्कुलको राम्रा र नराम्रा पक्षका बारेमा छलफल भयो । स्कुलले शौचालय र सरसफाइ, खेलमैदान फराकिलो बनाउन सुधार गर्ने बताएको छ ।

स्कुलको भौतिक संरचना कक्षाकोठाका साथै विद्यार्थीहरूबाट लिइने सहयोग रकमको बारेमा सोधपुछ गरेको छ ।

खानेपानीको उपलब्धता, अपाङ्गमैत्री, छात्रामैत्री, सेनीटरी प्याड प्रयोग र डिस्पोजल गर्ने व्यवस्थाको अवलोकन गरेको थियो ।

नमुना विद्यालय विकास तथा सञ्चालन निर्देशिका अनुसार सञ्चालन भएको छ छैन, भवन निर्माण मापदण्डको कार्यान्वयन, ईटेण्डरको प्रक्रिया, वार्षिक कक्षा घण्टा, पठनपाठन भएको जम्मा दिन, वार्षिक बिदाका बारेमा बुझ्ने कार्य गरेको छ ।

एक शिक्षकले हप्तामा पढाउनु पर्ने नियम, कक्षागत सिकाइ, कमजोर विद्यार्थीका लागि शिक्षण व्यवस्था, पाठ्यपुस्तकको उपलब्धता, शैक्षिक कार्य योजना, गुनासो सुनुवाइको व्यवस्था लगायतका बुझ्ने कार्य गरेको छ ।

स्कुलको प्रचारले मात्र होइन कामले गुणस्तरीय छ छैन भन्ने बुझ्नका लागि वडाका विद्यालयहरूमा अनुगमन थालिएको वडाध्यक्ष टङ्क राईले बताए । अनुगमनलाई निरन्तरता दिइने उनको भनाई छ ।

अनुगमनमा  शिक्षा महाशाखा अधिकृत चन्द्रकला राई, वडा सदस्य विनीता श्रेष्ठ, कार्यपालिका सदस्य अनुप देवान, वडा सदस्य ब्रमज्ञ भट्टराई, प्राविधिक भुलमान लिम्बु, शिक्षक प्रमोद श्रेष्ठ, टिएलो अध्यक्ष नरेश शाक्य, मेयरमान ह्युज थिए ।