इटहरी : नेकपा (एमाले) मोरङको १० औँ जिल्ला अधिवेशनमा प्रमुख अतिथि देखि निर्वाचन कार्यतालीका सम्म प्रभावित बनेको छ । फाल्गुन १७ गते शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको अधिवेशनमा उपाध्यक्ष रामबहादुर थापा प्रमुख अतिथि भए । प्रधानमन्त्री तथा अध्यक्ष ओलीको सन्देश भन्दै थापाले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिए । 

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा पनि ओलीले सहमतिमै नेतृत्व छनौट गर्न निर्देशन दिएका थिए । ओलीको समर्थनमा घनश्याम खतिवडालाई अध्यक्ष बनाउन एमालेका प्रदेश र केन्द्रका नेताहरू लागि परे । मोरङ एमालेका पूर्व अध्यक्ष विनोद ढकालले प्यानलै बनाएर चुनावमा होमिए । पार्टीको संस्थापन लाइन विरुद्ध उम्मेदवारी दिएको भन्दै ढकालको आलोचना भयो । तथापि उनी पछि हटेनन् । अन्ततः खतिवडा विजयी भए ।  

त्यही अवस्था मोरङको अधिवेशनमा पनि देखिएको छ । ढकालले समर्थन गरेका अजम्बर राईलाई पराजित गराउन ओलीको नाम लिएर नेताहरू लागि रहेका छन् । मुख्यतः खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पर्शुराम बस्नेतले निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । ढकाललाई कमजोर बनाउन लागि परेका बस्नेतले राईलाई पराजित गर्न प्रतिनिधिसमक्ष विभिन्न माध्यमबाट संवाद र छलफल गरिरहेका छन् । केपी ‘बा’को लाइन भन्दै राईका विरुद्ध माहौल बनाउन प्रदेश र जिल्लाको संस्थापन पक्ष लागेको हो । 

प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की देखि प्रदेश अध्यक्ष खतिवडा समेत राईका प्रतिस्पर्धी उम्मेदवार राजकुमार ओझाको पक्षमा छन् । ओझा प्रदेश सदस्य हुँदाहुँदै जिल्लाको उम्मेदवार बन्न घटुवा भएका हुन् । अध्यक्षमा राई र उपाध्यक्षमा सागर थापालाई हराउन सके मुख्यतः विराटनगर र मोरङमा आफ्नो प्रभाव बलियो बनाउन सकिने बस्नेतको बुझाई छ । यसअघि विराटनगरको मानगढ खानेपानीमा बागी उम्मेदवारलाई सहयोग गरेको भन्दै थापालाई महानगर अध्यक्षबाट हटाइएको थियो । 

मोरङमा बलियो प्रभाव रहेका थापा, राई र ढकाललाई कमजोर बनाउने संस्थापन पक्षले रणनीति तयार परेको छ । प्रतिनिधिलाई होटेलमै पुगेर विभिन्न अफर गर्ने देखि ढकालसँग निकट नेताहरूलाई प्रभावित पार्ने काम भइरहेको छ । रातभर राई पक्षका प्रतिनिधिलाई फोन गरेर नयाँ पदको लोभ देखाउने देखि धम्की समेत दिन थालिएको अधिवेशन स्थलमा भेटिएका एक नेताले बताए । 

शनिवार सुरु भएको अधिवेशनको निर्वाचन मङ्गलवार पनि भएन । निर्वाचन समितिका अनुसार बुधवार बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने भएको छ । ९११ प्रतिनिधिबाट मोरङ एमालेमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन हुन लागेको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले बताए । मङ्गलवार बिहान ९ बजेलाई तोकिएको निर्वाचन प्राविधिक कारणले हुन नसकेको उनको भनाइ छ ।

अध्यक्षमा राई र ओझा बिच कडा प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्षमा शान्ति कुमारी लिम्बु र सागर थापा प्रतिस्पर्धामा छन् । सचिवमा रविन थापा र सोमराज थापाको उम्मेदवारी छ भने उपसचिवमा शिल्पा निराला कार्की, इजालाल राजवंशी, सन्तोष बान्तवा र उषा झा प्रतिस्पर्धामा छन् ।

emale-biratnagar