विराटनगर : राती अवेर सम्म मोबाइल चलाउनेहरूलाई विराटनगरका मेयर नागेश कोइरालाले बिहान चाँडो उठेर योग गर्न सुझाव दिएका छन् ।
प्रविधिको विकाससँगै बदलिएको दैनिक जीवनशैलीले मानिसलाई रोगी बनाउँदै लगेको बताउँदै उनले भने ‘राति अबेरसम्म मोबाइल चलाएर बिहान ढिलो उठ्नाले रोगी बनाइरहेको छ, बिहान छिट्टै उठेर नियमित योग गर्दा हत्तपत्त रोग लाग्दैन ।’
पतञ्जली योग समिति र महिला पतञ्जली मोरङद्वारा आयोजित ५ दिने योग शिविरको समापनमा मेयर कोइरालाले मङ्गलवार त्यस्तो सुझाव दिएका हुन ।
उनले विद्यालय तहदेखि नै योग कक्षाहरू सञ्चालन गर्नुपर्नेमा जोड दिँदै योग गर्दा धेरै रोग लाग्नबाट बच्न सकिने, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय भएको बताए ।
निःशुल्क योग शिविर फागुन १६ गतेदेखि सुरु भएको थियो । शिविर निकै नै फलदायी भएको समितिकी अध्यक्ष शिल्पा प्याकुरेलले बताइन्।









































































