धरान : नेपाल काँग्रेसको गैरसरकारी संस्था तथा सामाजिक सेवा विभाग कोशी प्रदेश समितिले पाटी सङ्गठन सुदृढीकरणको लागि सक्रिय भएर जुट्ने निर्णय गरेको छ ।
विभागले प्रदेशमा रहेका लोकतान्त्रिक विचारधाराप्रति आस्था राख्ने विकास साझेदार सङ्घ/संस्थाहरूसँग समन्वय गरी उनीहरूको साझेदारीमा सामाजिक कार्यहरू गर्ने भएको हो ।

विभागको प्रदेश समितिको बिहीबार बसेको पहिलो बैठकमा पार्टी सङ्गठन सुदृढीकरणका लागि सामाजिक क्रियाकलाप बढाउने विषयमा छलफल भएको बैठकमा सहभागी प्रदेश समिति सदस्य दिनेश न्यौपानेले बताए । उनका अनुसार साङ्गठनिक सुदृढीकरण र भविष्यको राजनीतिबारे चर्चा भएको थियो ।
बैठकमा नेपाली काँग्रेस कोशी प्रदेश सभापति उद्घव थापाले गैरसरकारी संस्था तथा सामाजिक सेवा विभागलाई प्रभावकारी ढङ्गले अघि बढाउनु पर्ने सुझाव दिएका थिए ।
प्रदेश महामन्त्री उमेश थापाको उपस्थितिमा भएको बैठकको सभापतित्व सामाजिक सेवा विभाग प्रमुख सुमनसिंह परियारले गरेका थिए । विभागमा नयाँ मनोनयन सहित १४ सदस्यीय कार्य समिति रहेको छ ।
प्रदेश समितिमा सहसंयोजक रञ्जन ओझा, सदस्य सचिव विष्णु बराल तथा सदस्यहरू; दिनेश न्यौपाने, ज्ञानु थापा, छत्रबहादुर निरौला, टेकबहादुर खडका, ललितमान फेजुङ्ग, चक्रबहादुर राई, रफुल अन्सारी, शैलेस बस्नेत, चिरञ्जीवी थापा, धनबहादुर हिमाङ्ग र सङ्गीता चापागाईँ रहेका छन् ।