धरान : पुरानो धरान अस्पतालमा उपमहानगरपालिकाद्वारा सञ्चालित प्रसूति गृहमा शुक्रवार देखी गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्था परीक्षण गर्न निःशुल्क आरयुएसजी ग्रामीण भिडिओ एक्स-रे सेवा सुरु गरिएको छ ।
उपप्रमुख आइन्द्रबिक्रम बेघाले रिबन काटेर उद्घाटन गरेको भिडिओ एक्सरे कक्षमा पूर्व सुनसरी जिल्ला स्वास्थ्य प्रमुख डा.श्रीराम शाहले प्रसूति गृह आएकी एक गर्भवतीको पहिलो भिडिओ एक्सरे गरे ।

प्रसूति पूर्व गर्भवतीहरूको गर्भावस्था परीक्षण गर्ने सेवा सञ्चालन गर्न डा. शाहले गृहलाई भिडिओ एक्सरे, रक्त परीक्षण सहित उपकरण प्रदान गरेका हुन । उपकरणको मूल्य करिब १२ लाख रुपैयाँ पर्ने उनले बताए ।
प्रसूति गृहमा यस अघि उक्त सेवा थिएन । गर्भावस्थामा आमा र बच्चाको लागि प्रसूति गराउन अघि कम्तीमा ३ पटक भिडिओ एक्सरे गरिन्छ । निजी क्लिनिकहरूमा १ पटक भिडिओ एक्सरे गराउँदा १ हजार २०० रुपैयाँ सम्म शुल्क लाग्छ । प्रसूति गृहमा उक्त सेवा निःशुल्क सुरु गरिएको हो ।
उद्घाटन कार्यक्रममा उपप्रमुख बेघाले गर्भको जाँच गर्न पैसा तिर्न नसक्नेहरू सम्म आज सुरु भएको निःशुल्क सेवाको सन्देश पुर्याउनु पर्नेमा जोड दिए । उनले भने ‘ग्रामीण भिडिओ एक्स-रे सेवाको उद्देश्य पहुँच नपुगेका ग्रामीण क्षेत्रका गर्भवतीहरूको सेवा भएकोले यसलाई गाउँ गाउँ सम्म पुर्याउनु पर्दछ ।’
दाता डा.श्रीरामले भिडियो एक्स-रे सेवा गर्भवती सहित ज्येष्ठ नागरिकहरूलाई पनि सेवा दिन सकिने हुनाले प्रसूति गृहले ज्येष्ठ नागरिक सेवाको पनि कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । त्यसको लागि आफैले पनि गृहमा आएर स्वयं सेवा गर्न तयार रहेको बताए ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भिडिओ एक्सरे सेवा ग्रामीण क्षेत्र सम्म पुर्याउन धरानका दुर्गम वडालाई प्राथमिकतामा राखेर सबै वडामा घुम्ती शिविर सञ्चालन गर्न कार्यक्रम तर्जुमा गरिने बताए ।
उपमहानगरपालिकाद्वारा सञ्चालित प्रसूति गृहमा प्रसूति गराउनेहरूलाई सरकारी कार्यक्रम अनुसार आमा र बच्चालाई पौष्टिक आहारका लागि नगद भत्ता दिने व्यवस्था पनि छ । तथापि गृहमा प्रसूति गराउन आउने आमाहरूको सङ्ख्या भने न्यून छ ।
गृहमा निःशुल्क भिडिओ एक्सरे सेवा सञ्चालन भएपछि नियमित गर्भावस्था परीक्षणका लागि गर्भवतीहरू आउने सङ्ख्या बढ्ने विश्वास गरिएको छ । प्रसूति गृहले प्रसूतिका लागि आएका आमाहरूलाई ‘नर्मल’ प्रसूति गराउँदै आएको छ । प्रसूतिमा समस्या देखिए गृहले वीपी प्रतिष्ठानमा रेफर गर्ने गरेको छ ।