धरान : नेपालमा बुद्धिचाल चेस खेलमा नयाँ प्रयोग स्वरूप पहिलो पटक फ्रिस्टाइल चेस प्रतियोगिता हुने भएको छ । काठमाडौँ स्थित हिमालयन चेस एकेडेमीले ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ चैत १ गते आयोजना गर्न लागेको हो ।
एकेडेमीको वार्षिकोत्सवको अवसरमा फ्रिस्टाइल चेस च्याम्पियन हुने एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूले बताइन् ।

पूर्वविश्व च्याम्पियन अमेरिकी ग्रान्डमास्टर बबी फिसरले परम्परागत चेसलाई रोचक बनाउने प्रयासको रूपमा फ्रिस्टाइल चेस सुरु गरेका थिए । त्यसैलाई हिमालयन चेस एकेडेमीले नेपालमा भित्राएको हो ।
परम्परागत चेस जेन जी नयाँ पुस्ताका लागि खासै रोचक भएन । परम्परागत चेसलाई नयाँ फ्रिस्टाइल चेसले रोचक बनाएको छ । अध्यक्ष मोनालिशाले भनिन् ‘त्यसैले पहिलो पटक नेपालमा फ्रिस्टाइल चेसको प्रतियोगिता गर्न लागिएको हो ।’
च्याम्पियनसिपका चिफ आर्बिटर याइशाष यासिर खम्बूका अनुसार फ्रिस्टाइल चेस लिग कम नकआउटको आधारमा सञ्चालन गरिनेछ ।
४ समूहमा विभाजित खेलाडीलाई समूह चरणका खेल एकेडेमीको थापाथली चेस हलमा गरिनेछ । समूह विजेता ४ खेलाडी फाइनलमा प्रवेश गर्नेछन् । उनीहरूले नकआउटको आधारमा चैत १ गते होटल रोयल सिङ्गीमा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
एकेडेमीले आफ्नो वार्षिकोत्सव चैत १ गते शुक्रवार एकैसाथ दुई प्रतियोगिता आयोजना गर्दै छ । फ्रिस्टाइल च्याम्पियनसिपसँगै ‘हिमालयन ब्लिज कप’ आयोजना गर्न लागेको हो ।
फ्रिस्टाइलको शीर्ष चारमा स्थान बनाउन असफल खेलाडीसँगै अरू चेस खेलाडीले स्वीस प्रणालीको आधारमा हुने एक दिने ब्लिज कप खेल्नेछन् ।
दुवै प्रतियोगिताको पुरस्कार १ लाख २५ हजार रुपैयाँ रहेको छ । फ्रिस्टाइलको विजेताले २५ हजार, उपविजेताले ९ हजार ६ सय तथा सेमिफाइनलमा पराजित हुने २ खेलाडीले जनही ६ हजार ४ सय पाउनेछन् ।
प्रतियोगिता संयोजक प्रयुक्ता केसीका अनुसार १६ स्पर्धासमावेश ब्लिज कपको विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय, तेस्रोले ६ हजार र चौथो हुनेले ४ हजार प्राप्त गर्नेछन् ।
ब्लिज कपमा शीर्ष १०, महिलासँगै ग्रल्स र ब्वइजका यू ८, यू १०, यू १२, यू १४, यू १६ विजेता, एचसीए बेस्ट, ५० वर्षमाथिको भेट्रान, अनरेटेडतर्फका उत्कृष्ट, फिडे रेटिङ २००० र १७०० मुनिका उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउनेछन् ।
एकेडेमीले एक वर्षभित्र सात प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि उसले एसईई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्डस, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप र हिमालयन डुओ गरी ५ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो ।
बौद्धिक खेलको रूपमा परिचित चेसलाई नेपालमा प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई काठमाडौँ महानगरपालिका ११, थापाथलीस्थित आफ्नै हलमा नियमित चेस ट्रेनिङ दिइरहेको छ ।