विराटनगरः विराटनगर महानगर अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा पोखरिया मावि प्रथम भएको छ ।

प्रतियोगिता विराटनगर महानगरपालिकाको समन्वयमा विजेता पोखरिया माविले आयोजना गरेको हो । प्रतियोगितामा महानगरका ३२ विद्यालय सहभागी थिए । सबैलाई पछि पार्दै पोखरिया प्रथम भएको हो ।

हाजिरी जवाफ आधारभूत तहमा कक्षा ६-८ सम्मका विद्यार्थी समूहहरू बिच भएको थियो । प्राथमिक तहमा कक्षा १-५ का सामुदायिक र संस्थागत १६ विद्यालयबिच प्रतिस्पर्धा भएको थियो ।

आधारभूत तहमा मदननगर आधारभूत विद्यालय दोस्रो र सत्यनारायण मावि तेस्रो स्थानमा रहे । बाल मावि रानीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

प्राथमिक तहको प्रतिस्पर्धामा ग्रिनल्याण्ड इङ्लिस स्कुल प्रथम, अर्पण इङ्लिस स्कुल द्वितीय र एभरेष्ट इङ्लिस स्कुल तृतीय भएका छन् । बाल मन्दिर विद्या मन्दिरले सान्त्वना सान्त्वना पुरस्कार प्राप्त गर्‍यो ।

आधारभूत तहका विजेता विद्यालयहरूले २१ हजार, १५ हजार, १२ हजार र ६ हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

उद्घाटनको अवसरमा प्रमुख अतिथि मेयर नागेश कोइरालाले विद्यार्थीको बौद्धिक विकासमा हाजिरीजवाफ प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले पाठ्यक्रम सँगै बाहिरी ज्ञान हासिल गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।

सामाजिक विकास संयोजक काजीबहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, वडा-३ का अध्यक्ष वासुबहादुर बस्नेत, प्रधानाध्यापक खेमराज भट्टराई, व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Hajirijawaf-biratnagar