वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्वास्थ्य स्वयंसेविकाहरूलाई व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी शिक्षा तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
व्यक्तिगत घटनादर्ता गर्ने सेवाग्राही तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनु भएका सेवाग्राहीहरूलाई स्वास्थ्य स्वयंसेविकाहरू मार्फत दर्ता, नवीकरण सम्बन्धी जानकारी गराउन सहयोग पुर्याउने उद्देश्यले शिक्षा तथा अभिमुखीकरण आयोजना गरिएको नगरपालिकाका पञ्जिकरण शाखाका कर्मचारी रामचन्द्र अधिकारीले जानकारी दिए ।

नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वराहक्षेत्र नगरपालिकाको चक्रघट्टिमा आयोजना भएको उक्त व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी शिक्षा तथा अभिमुखीकरण कार्यक्रममा वडा नं ६, ७ र ८ का स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमले व्यक्तिगत घटनादर्ता गर्ने सेवाग्राही तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनु भएका सेवाग्राहीहरूलाई दर्ता, नवीकरण गर्न थप सहयोग तथा सहजीकरण हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए ।
उक्त शिक्षा तथा अभिमुखीकरण कार्यक्रमको सहजीकरण पञ्जिकरण शाखाका कर्मचारी पवन पोखरेल र रामचन्द्र अधिकारीले गर्नेछन् । सोही प्रकारको कार्यक्रममा अन्य वडा कार्यालयहरूमा पनि गरिनेछ ।