इटहरी : पूर्वमा सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय कविता प्रतियोगिता इटहरी २० तरहरामा हुने भएको छ ।
नयाँ वर्ष २०८२ वैशाख १२ गते शुक्रवार ‘स्वर्गीय कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता-२०८२’ हुने भएको हो । प्रतियोगीताका लागि लागि कविहरूलाई कविता पठाउन आह्वान गरिएको छ ।

प्रतियोगिता जनसहयोग माविका २०५० सालको एसएलसी दिएका समूहले आयोजना गर्न लागेको हो । समूहका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार प्रथम हुने कविलाई नगद ५१ हजार १ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
साथै दोस्रो, तेस्रो र २ जनालाई प्रोत्साहन पुरस्कार क्रमशः ४१ हजार १००, ३१ हजार १००, र ११ हजार १०० प्रदान गरिनेछ । छनोट भएका मध्ये थप ५ जनालाई नगद ५/५ हजार १०० नगद पुरस्कार प्रदान गरिने छ ।
कवि र कवितालाई समाजमा अझ परिचित बनाउने र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गरिने श्रेष्ठले बताए ।
प्रतियोगितामा सहभागी हुन चाहनेले २०८१ चैत मसान्तसम्म इमेल मार्फत कविता पठाउन सकिने बताइएको छ । कविता समसामयिक विषयमा, नेपाली भाषामा लेखिएको हुनुपर्छ । गद्य/पद्य दुवै विधाका कविता ३ सय शब्दसम्मको हुनुपर्ने बताइएको छ ।
प्राप्त कविताहरू छनोटका लागि ३ चरणमा मूल्याङ्कन गरिने छ। उत्कृष्ट १० कविलाई प्रतियोगितामा कविता वाचन गर्न निम्ता गरिने छ । उत्कृष्ट १० कविहरू स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्ने छ ।