धरान : २५ औँ संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा विजयी हुँदै १७ वडा र १३ वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

धरानमा नै पहिलो पटक रात्रिकालीन फ्लड लाइटमा भइरहेको प्रतियोगितामा मङ्गलवार साँझ भएको पहिलो खेलमा ४ पटकको विजेता १७ वडाले २० वडालाई ३–० ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । पराजित भएको २० वडा भने प्रतियोगिताबाट बाहिरिएको छ ।

१७ वडाकालागी कृष्ण राईले दुई गोल गरे भने पासाङ तामाङले एक गोल गरे । १ वडालाई ४ गोल गर्दै फ्री क्वाटरमा १७ वडासँगको भेट पक्का गरेको २० वडाले १७ वडासँगको खेलमा भने राम्रो प्रदर्शन गर्न सकेन ।

बी डिभिजन खेल्नकालागी १७ नं. वडाका केही सिनियर खेलाडी काठमाडौँमा नै रहेपनि २०वडासँग राम्रो खेल प्रदर्शन गरेको छ । खेलको म्यान अफ द म्याच १७ नं. वडाका कृष्ण राई घोषित भए । १७ वडाले १८वडासँग क्वाटर फाइनलमा खेल्नेछ ।

त्यस्तै मङ्गलवार नै भएको दोस्रो खेलमा ४ वडालाई २–० ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन १३  वडा प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पराजित भएको ४ वडा भने प्रतियोगिताबाट बाहिरिएको छ । १३ वडाकोलागी सुशान्त राई र निकोलस राईले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ३४ औँ मिनेटमा सुशान्त राईले गोल गर्दै १३ वडालाई अग्रता दिलाएका थिए । सब्टीच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेको निकोलस राईले खेलको ७३ औँ मिनेटमा गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । खेलको म्यान अफ द म्याच १३ वडाका सुशान्त राई घोषित भए  ।

भोली बुधवार धरान वडा ६ र वडा १० बिच प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल हुनेछ । बुधवार साँझ ६ः३० बजे धरान रङ्गशालामा वडा नं. ६ र वडा नं. १० बिच खेल हुने आयोजकले जानकारी दिएको छ । चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।

मनोज मेवाहाङ राईद्वारा फुटबलबाट संन्यास

धरान–१३ का खेलाडी मनोज मेवाहाङ राईले खेलाडीको रूपमा खेल जीवनबाट संन्यासको घोषणा गरेका छन् । उनी सहभागी भए पश्चात् १३ वडाले २ पटक गोधुली कपको उपाधि जितेको थियो ।

यस पटक १५ मिनेट मैदानमा उत्रिएका राईले संन्यासको घोषणा गरेपछि १३ नं. वडा कार्यालय तथा १३ वडाको धरान–१३ स्पोर्टिङ क्लबले उनलाई मैदानमै सम्मान गरेको थियो । सम्मान पत्र तथा दोसल्ला ओढाएर धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले सम्मान गरेका थिए ।

13-no-wada