धरान : धरान रङ्गशालामा चलिरहेको रात्रिकालीन गोधुली रनिङ कप फुटबलको हिजो शुक्रवार रती भएको खेलमा धरान-१४ ले  धरान-६ लाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धात्मक खेल पहिलो हाफ गोल रहित रह्यो । दोस्रो हाफको सुरुमै धरान-१४ ले पहिलो गोल गर्दै अग्रता लियो । खेलको ५३ औँ मिनेटमा पाएको फ्रिकिकलाई आशिस पुरीले गोलमा परिणत गरे ।

धरान-६ का अर्जुन लिम्बूको जवाफी गोलले १० मिनेट नबित्दै खेल बराबरीमा पुग्यो । अजय विष्टको लामो पासलाई लिम्बूले दुई जना डिफेन्सलाई छक्याउदै गोल गरेका थिए ।

खेलको अतिरिक्त समयमा धरान-१४ का आशिष् पुरीले गरेको थप गोल खेलको निर्णायक बनेको हो । डिबक्स भित्र अनमार्क रहेका पुरीले आफ्नो साथीले प्रहार गरेको फ्रिकिक बललाई पोष्टको दिशा दिएका थिए ।

पुरी खेलको म्यान अफ द म्याच घोषित समेत भए । उनलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो ।

आज शनिवार साँझ धरान-११ र धरान-५ वडा बिच खेल हुने आयोजकले जानकारी दिएको छ । चैत २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको टिमले स्वर्गीय सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुनेछ ।