धरान : २५औँ संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा ११ नं. वडालाई पराजित गर्दै ५ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिवार साँझ ७ बजे धरान रङ्गशालामा भएको खेलमा ११ नं. वडालाई सहज रूपमा पराजित गर्दै ५ नं. वडाले सेमिफाइनलमा १५ नं. वडासँगको भेट पक्का गरेको छ । सुरुवातदेखि नै ११ नं. वडालाई दबाबमा राखेको ५ नं. वडाले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो ।

मिजास आङबुहाङको फ्रिकिक पासमा डिबक्स भित्र अनमार्क रहेका सृजन मगरले उत्कृष्ट हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ११औँ मिनेटमा नै ५ नं. वडाले अग्रता दोब्बर बनायो ।

११ नं. वडाका डिफेन्सले गोल किपरलाई दिएको पासलाई खोसेर ५ नं. वडाका तिलविक्रम लावतीले उत्कृष्ट गोल गरे । खेलको ३६औँ मिनेटमा तिलविक्रम लावतीले पुन गोल गर्दै ५ नं. वडाको अग्रता तेब्बर बनाएका थिए ।

पहिलो हाफमा ३-० ले पछि परेको ११ नं. वडाले दोस्रो हाफमा लयमा फर्कने प्रयास गर्‍यो । तर गोल गर्न नसक्दा ११ नं. वडा प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको म्यान अफ द म्याच ५ नं. वडाका मिजार आङबुहाङ घोषित भए । उनलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो ।

भोली आइतबार अन्तिम क्वाटर फाइनलमा धरानको १७ नं. वडा र १८ नं. वडा बिच खेल हुने आयोजकले जानकारी दिएको छ । चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।