धरान : गोधुली धरान उपमहानगरस्तरीय अन्तरवडा रनिङ कप २५औँ संस्करणको उपाधि धरान वडा १४ ले चुमेको छ ।
रङ्गशालामा बिहीबार राती भएको फाइनल खेलमा धरान-१४ ले वडा १५ लाई १-० गोलले हराउदै उपाधि हात पारेको हो । वडा १४ को यो दोस्रो जीत हो । यसअघि २१औँ संस्करणमा वडा १४ विजेता बनेको थियो ।
वडा १४ का विवेक राईले दोस्रो हाफमा गरेको गोल नै निर्णायक भएको थियो ।
उपाधि ट्रफीसँगै वडा १४ ले नगद १ लाख ५० हजार हात पार्यो । उपविजेता वडा १५ ले नगद ७५ हजारमा चित्त बुझाउनु पर्यो । नगद पुरस्कारमा वडा १८ का वडाध्यक्ष नरेन्द्रकुमार राईले बुबाको नाममा विजेता र उपविजेता टिमलाई २५/२५ हजार नगद पुरस्कार थपेका थिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच वडा १४ का आशिष पुरी घोषित भए । प्रतियोगिता को सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै वडा १४ का विवेक राईले नगद १५ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको बेष्ट गोलकिपर वडा १४ का राजु खड्का, बेष्ट डिफेन्डर वडा १५ का आशुतोष राई, बेष्ट मिडफिल्डर वडा १५ का एरिक गुरुङ, बेष्ट स्ट्राइकर वडा १४ का निमेष तामाङ घोषित भए भने बेष्ट कोच पनि वडा १४ का शिव राई भए । उनीहरू सबैले जनही नगद ५ हजार ५ सय र ट्रफी हात पारे ।
प्रतियोगितामा सर्वाधिक ४ गोल गरेका वडा १७ का कृष्ण राईले नगद ७ हजार ५ सय थापे भने राइजिङ प्लेयरको पुरस्कार वडा १७ का सुवास बिक घोषित हुँदै नगद ५ हजार ५ सय पाए । फेयर प्ले टिम वडा नं १७ ले हात पारे ।