धरान : पाँचकन्या सामुदायिक वन धरान-६ मा सोमबार दिउँसो एक महिलाको शङ्कास्पद अवस्थामा फेला परेकाे शवको पहिचान खुलेको छ । प्रहरीका अनुसार उनको मृत्यु शङ्कास्पद अवस्थामा भएको देखिएको छ ।

मृतकको पहिचान धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका-१ घर भई हाल इटहरीमा बसोबास गर्दै आएकी ३४ वर्षीया चुन कुमारी दाहाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए ।

शव फेला परेको स्थानमा गरिएको प्रारम्भिक अनुसन्धानमा आपराधिक गतिविधि भएको आशङ्का गरिएको छ । प्रहरी घटनास्थलमा पुग्दा महिलाको शरीरमा चोट पटक देखिएको र कपडा समेत अव्यवस्थित अवस्थामा रहेको प्रहरीको भनाई छ ।

प्रारम्भिक अनुसन्धानमा शव केही मिटर घिसारिएको जस्तो देखिएको छ । अनुहारमा चोट देखिएको छ तर धारिलो हतियार प्रयोग गरिएको प्रमाण फेला परेको छैन ।

शव घिसारिँदा कपडा खुलेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको यथार्थ पत्ता लगाउन अनुसन्धान जारी छ ।

दाहाल भनिएकी महिलाको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृति स्पष्ट हुने प्रहरीले जनाएको छ ।