वराहक्षेत्र : नेपाल राष्ट्रका प्रथम जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यले नेपाललाई हिन्दु राष्ट्रको रूपमा पुनर्स्थापित गर्नुपर्ने बताएका छन् ।
आइतबार नववर्षको पूर्व सन्ध्यामा २०८२ सालको शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै नेपाल राष्ट्रका प्रथम जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यले नेपालीहरूको अन्तरआत्मा सँग जोडिएको गौरवपूर्ण हिन्दु राष्ट्रलाई पुनः स्थापित गर्नु पर्ने बताएका हुन् ।

चतराधाम स्थित जगद्गुरु पीठमा आयोजना भएको कार्यक्रममा जगद्गुरु बालसन्तले नेपालीहरूको अन्तरात्मासँग जोडिएको गौरवपूर्ण हिन्दु राष्ट्रलाई विस्थापित गरी हुँदै नभएको आयातित शब्द धर्म निरपेक्ष संविधानमा झुन्ड्याए पछि ३ करोड नेपालीहरूको मनमा आघात पुग्नगई त्यसपछि निरन्तर रूपमा देशमा धार्मिक द्वन्द्वको बीजारोपण गरिएको बताए ।
उनले भने 'हिन्दु राष्ट्रलाई विस्थापित गरेसँगै त्यसैको नमिठो प्रभाव देशमा छताछुल्ल हुन पुग्यो, फलस्वरूप आज नराम्रोसँग मुलुक धार्मिक र राजनीतिक द्वन्द्वमा फसेको कुरा सबैमा सर्वविदितै छ।'
उनले भने 'वैदिक सनातन संस्कृतिको उद्गमस्थल, विश्वका अरबौँ हिन्दुहरूको आस्थापुञ्ज, पूर्वीय वाङ्मयले मुक्तकण्ठले प्रशंसा र स्तुति गरिएको लाखौँ पौराणिक तीर्थस्थल परशुराम कुण्ड, वैद्यनाथ, बडी मालिका, छाँयानाथ, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर, वराहक्षेत्र, कुम्भनगरी चतराधाम जस्ता राष्ट्रिय गौरवका तीर्थस्थलहरूले श्रृङ्गारिएको देश नेपाल अनादिकाल देखि नै वैदिक सनातन हिन्दु राष्ट्रका रूपमा स्थापित भइसकेको देश हो ।
विश्वका एक अर्ब दश करोड हिन्दुहरूको साझा आस्था र गौरवको राष्ट्र, विश्वको एक मात्र सनातन हिन्दु राष्ट्र नेपालको स्थापना गर्न राष्ट्रिय सहमतिपूर्वक नेपाली जनताको आस्थालाई युगान्त सम्म अमर राख्ने काममा सरकार तथा सम्बन्धित सबैको साझा मिलनबिन्दु बनाउँदै राष्ट्रिय सहमतिका साथ देश अगाडि बढ्नु पर्ने र नेपाली जनताको जनभावनालाई सम्मान गर्दै अगाडी बढ्ने सत्कार्यमा नेपालका राजनीतिज्ञहरू, विभिन्न पार्टीका नेताहरू, राजनीतिक सङ्घ सङ्गठनहरू एवं हिन्दु राष्ट्र स्थापनार्थ अहोरात्र खटिएका राष्ट्रभक्त, राष्ट्रवादी सबै पक्षसँग बसी वार्ताका माध्यमद्वारा छिट्टै समस्या समाधान गरी देशलाई द्वन्द्व र हिंसामा जानबाट जोगाउन सम्पूर्णमा आग्रह गर्दछु ।'