धरान : कोशी नदीको जलमार्गबाट ट्युबमाथि राखेर ल्याइरहेको १८० केजी गाँजा आज सोमवार राती प्रहरीले बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उदयपुरको बेलका-८ कोशी नदी किनारबाट इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नदीको बाटो गाँजा आउँदै छ भन्न पूर्व प्रहरी खटिएको थियो । गाँजा २ वटा ट्युब माथि पानीमा तैरिँदै कोशी किनार आएको थियो ।

ट्युब नियन्त्रणमा लिएर चेकजाँच गर्दा ६ वटा प्लाष्टिकको बोरामा भएको १८० केजी बेवारिसे गाँजा बरामद गरेको हो ।

बरामद गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ । ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको छ ।

यसैबिच आइतबार बेलुका झापाको कमल गापा-७ का २८ वर्षीय बिशाल लिम्बूलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी महारानी झोडाको प्रहरी टोलीले लिम्बूलाई चेकजाँच गर्दा ट्रमाडोल ४७० क्याप्सुल र डाईक्लोमिन ३९० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।