धरान : शारीरिक सुगठनको राष्ट्रिय प्रतिस्पर्धा धर्मश्री प्रतियोगितामा सहभागी भई उपाधि हासिल गरेका शारीरिक सुगठन २ खेलाडीलाई धरान फिटनेस क्लबले शनिवार सम्मानित गरेको छ ।

काठमाण्डौमा चैत्र ७ देखी ९ सम्म चलेको धर्म श्रीमा मेन फिजिक्समा तेस्रो उपाधि हासिल गर्न सफल नेपाली सेनाका नायक रमेश फोम्बो र मेन फिजिक्सका ३ पटक राष्ट्रिय च्याम्पियन अन्तर्राष्ट्रिय खेलाडी अवतार श्रेष्ठलाई सम्मान गरिएको हो ।

फोम्वो धरानमा भएको मिस्टर कोसी शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौल समूहमा स्वर्ण पदक र अलओभरमा सेकेन्ड रनरअप उपाधि विजेता पनि हुन । क्लबको फिटनेस हलमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान प्रदान गरिएको हो ।

सोही अवसरमा भुटानको थिम्पुमा हुने साउथ एसियन स्पोर्टस फिजिक्समा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्न जान लागेका अवतार श्रेष्ठलाई बधाईका साथै तयारी खर्च प्रदान गरियो । थिम्पुमा जुन १४ तरिखमा प्रतियोगिता हुदैछ ।

श्रेष्ठलाई धरान फिटनेसका सञ्चालक कविरभगत प्रधानाङ्गले तयारी स्वरूप नगद २५ हजार रुपैयाँ प्रदान गरेका हुन । अवतारले क्लबलाई वुल्समेन राष्ट्रिय च्याम्पियनसिपका च्याम्पियन ट्रफि हस्तान्तरण गरे । उनले धरान फिटनेस क्लबको प्रतिनिधित्व गर्दै वुल्सम्यानको उपाधि जितेका हुन ।

अवतार वुल्सम्यान सँगै विरगञ्जमा भएको रेन्वो क्लासिक र पोखरामा ९ औ राष्ट्रिय खेलकुदमा कोसी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय च्याम्पियन वनेका थिए । उनले २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै दुबईमा वर्ल्ड मेन्स फिजिक्समा समेत प्रतिस्पर्धा गरेका थिए ।

क्लबले साउथ एसियन स्पोर्टस फिजिक्सका लागि अवतारलाई तयारी गराइरहेको छ । बधाई तथा सम्मानका कार्यक्रममा सम्मानित अवतार र रमेशले फिटनेसका सेभेन पोज प्रदर्शन गरे ।