धरान : वैदेशिक रोजगारीमा कोरियामा रहेका श्रीमान् प्रेम बहादुर बुढाथोकीकै योजनामा हत्या भएको ३४ वर्षीया श्रीमती चुनुकुमारी दाहाल बुढाथोकीको हत्यामा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय धरानमा आज बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा सुनसरीका एसपी सुमन तिम्सिनाले भने ‘चुनुकुमारी हत्याको मूल कारण श्रीमान् श्रीमती बिचको मनमुटाबले डिभोर्स दिन नमान्दा सुनियोजित रूपमा भएको देखियो ।’ हत्याको मुख्य योजनाकार कोरिया रहेका मृतककै श्रीमान् प्रेम बहादुर बुढाथोकी रहेको उनले बताए ।
हत्यामा संलग्न परिवारका ६ जना
आज सार्वजनिक गरिएका कोरियामा रहेका चुनकुमारीका श्रीमान् प्रेम बुढाथोकी लाई नेपाल प्रहरीले कोरियाबाट वैशाख ३ गते नेपाल झिकाई अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट पक्राउ गरेको हो । उनलाई आज विराटनगर वाट सुनसरी जिल्ला अदालतमा म्याद थप गरी सार्वजनिक गरिएको छ ।
हत्यामा संलग्न योजनाकारका भाइ ढकेन्द्र बुढाथोकी, बुहारी सृष्टि बुढाथोकी, कान्छा ज्वाइँ योगेन्द्र गौतम, कान्छी बहिनी डेनु गौतम, सहयोगी केशवराज दाहाललाई प्रहरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न फुपूका छोरा भारतीय नागरिक राजु थापा फरार छन् ।
डिभोर्स दिन नमान्दा हत्या
एसपी तिम्सिनाका अनुसार श्रीमान् बुढाथोकीले परपुरुष सँग लागे भन्दै श्रीमतीलाई जबरजस्ती डिभोर्स दिन लगाएको थियो । तर श्रीमतीले डिभोर्स नदिएपछि उनको हत्या गर्ने योजना उनकै श्रीमानले बनाए । उनले भने ‘डिभोर्स नदिएपछि बुढाथोकीको परिवार मिलेर योजनाबद्ध रूपमा हत्या गरिएको हो ।’
कसरी गरियो जङ्गलमा हत्या ?
एसपी तिम्सिनाका अनुसार चुनुकुमारीलाई ज्वाँई नाता पर्ने योगेन्द्र गौतमले स्कुटर सिकाउने भन्दै प्रस्ताव गरेपछि चुनुकुमारीले श्रीमानसँग सोधिन्, श्रीमानले जाऊ भने।
चुनुकुमारीको विश्वासिलो पात्रको रूपमा रहेका ज्वाइँले घुम्न जाने प्रस्ताव गरेपछि ज्वाइँ योगेन्द्र सँग घुम्न गएकी चुनुकुमारीलाई बाटो भुलेको भन्दै झुक्याएर धरानको जङ्गल पुर्याइएको थियो ।
जङ्गलमा पुगेपछि घाँटीमा झोलाको फित्ताले घाँटीमा बाँधेर अत्यधिक कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दा करङ भाँचिदिएको र घिस्राउँदै रुखको फेदमा बाँधी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
मृतक चुनकुमारीको शव धरान-६ पञ्चकन्या जङ्गलमा गत सोमवार अर्धनग्न अवस्थामा प्रहरीले फेला पारेको थियो ।
महालक्ष्मी नगरपालिका-१ माइती भएकी चुनकुमारी दाहाल बुढाथोकी विगत दुई वर्षदेखि इटहरीको हलगडामा डेरामा बसेर छोरालाई पढाउँदै थिइन् ।
भारतीय नागरिकको खोजी तीव्र
प्रहरीले अब एक भारतीय नागरिकको खोजी तीव्र बनाएको एसपी तिम्सिनाले बताए । प्रारम्भिक अनुसन्धानबाट उक्त भारतीय नागरिकलाई आर्थिक प्रलोभन देखाई योजनामा संलग्न भएको आशङ्का गरिएको छ ।
हत्यामा संलग्न चुनकुमारीको देवर, देवरानी, नन्द र एक सहयोगीलाई झापा र मोरङबाट पक्राउ गरिएको हो । प्रहरीले घटनामा प्रयोग गरिएको ३ वटा मोटरसाइकल बरामद समेत भएको छ ।
प्रहरीका अनुसार, घटनामा अझै केही व्यक्तिहरूको संलग्नता हुनसक्ने भएकाले अनुसन्धान जारी रहेको थप घटनाको थप विवरणबारे थप अनुसन्धान गरिने एसपी तिम्सिनाले बताए ।