धरान: पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड किरात र लिम्बुवान मोर्चाको वैशाख २६ गते हुने संयुक्त राष्ट्रिय सम्मेलनमा धरान आउने भएका छन् ।

संयुक्त सम्मेलनको उद्घाटन भानुचोकमा गर्ने तयारी भइरहेको किरात मुक्ति मोर्चाका उपाध्यक्ष अशोक राईले बताए । पार्टी निकट किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन एकै साथ हुने उनले बताए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्न प्रचण्ड आउने भएका हुन । किराँती मोर्चाको पाँचौँ र लिम्बुवान मोर्चाको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन एकै साथ भए पनि बन्द सत्र भने छुट्टाछुट्टै हुने लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङ्बोले बताए ।

सम्मेलनमा महासचिव देव गुरुङ, आदिवासी/जनजाति संयुक्त मोर्चाका इन्चार्ज ओनसरी घर्तिमगर, सङ्घीय संयोजक सुरेश आले मगर, नेताहरू सुरेशकुमार राई हिमाल, दुर्गा राई उपस्थिति हुने छन् ।

सम्मेलनमा किराँती र लिम्बुवान मोर्चाका प्रतिनिधि र पर्यवेक्षक २० हजारको सङ्ख्यामा सहभागी हुने संयुक्त आयोजक समितिले जनाएको छ । किरात र लिम्बुवानको सम्मेलन एकै साथ गरेर माओवादीले कोशी प्रदेशका विद्यमान प्रदेश पुनःनामाङको आन्दोलनमा लिम्बु र राई बिच तथा किरात र लिम्बुवानको विवादलाई नयाँ सन्देश दिन खोजेको राजनीतिक वृत्तमा अनुमान गरिएको छ ।