इटहरी : इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीको कप्तान र भाइस कप्तान तथा हाउस कप्तान चयन गर्न शुक्रवार मतदान भएको छ ।
मतदानमा स्कुल कप्तानमा छात्रतर्फ कक्षा १० का जेनिश भण्डारी २५३ मत ल्याएर विजयी भए । यस्तै, स्कुल कप्तानमै छात्रातर्फ कक्षा ९ की निशा दाहालले ३६९ मत ल्याएर विजयी भइन् । 
निर्वाचनमा कुल मतदाता ८६१ मध्ये ६४२ जनाले मतदान गरेका थिए । विद्यार्थीबिचको चुनावी प्रतिस्पर्धा प्रक्रिया कुनै आवधिक वा स्थानीय तहको निर्वाचनको झझल्को दिने किसिमको थियो । 
निर्वाचनमा १२ पदका लागि ३९ जना विद्यार्थीबिच प्रतिस्पर्धा हुँदा भाइस कप्तानमा छात्रतर्फ कक्षा १० का रितेश राईले ३२९ मत ल्याएर विजयी भए । यस्तै, भाइस कप्तान छात्रातर्फ कक्षा ९ की सुजाता गौतमले ३३२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत शिक्षक युवराज काफ्लेले जानकारी दिए  । 
यस्तै, हाउस कप्तान अन्तर्गत ग्रिन हाउसको कप्तानमा कक्षा ८ की सुमिना राई र भाइस कप्तानमा कक्षा ९ का रुमन पाण्डे विजयी भए । रेड हाउसतर्फ कप्तानमा आठ ९ का विकिस कार्की र भाइस कप्तानमा कक्षा ९ कै नविना राई विजयी भइन् । 
यस्तै, बुलु हाउसमा कप्तानमा कक्षा ९ का जिसन उप्रेती र भाइस कप्तानमा कक्षा ८ बाट विजया कार्की विजयी भएको निर्वाचन समितिले जनाएको छ । चुनावी प्रतिस्पर्धामा यल्लो हाउसतर्फ कप्तानमा कक्षा ९ का रोशन विक र भाइस कप्तानमा कक्षा ९ कै कृतिका कार्की विजयी भइन् । 
नेपालमा हुने निर्वाचन प्रक्रिया प्रणाली सिकाउन कक्षा ६ देखि १० सम्मका विद्यार्थीबिच चुनाबको अभ्यास गराएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए ।
उनका अनुसार चुनावी प्रतिस्पर्धाले विद्यार्थीलाई पाठ्यक्रममै भएका विषयवस्तु निर्वाचन शिक्षा, नेतृत्व चयन र चुनावी प्रक्रियाबारे प्रयोगात्मक ज्ञान भएको छ ।  
चुनावी प्रतिस्पर्धा अघि  उम्मेदवारी घोषणा, मनोनयन दर्ता, दाव विरोध, उम्मेदवारी फिर्ता, चुनाव प्रचारप्रसार, मौन अवधि जस्ता आधारभूत क्रियाकलाप सबै पूरा गरिएको विद्यालयका सहायक प्रधानाध्यापक यमुना बस्नेतले बताइन् ।
उम्मेदवार बनेका विद्यार्थीले मत माग्ने, आफ्ना एजेन्डा प्रस्तुत गर्ने र मौन अवधिको नियमलाई कडा रूपमा पालना गरेको अर्का सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए । चुनाव बिहान १० बजेदेखि सुरु भएर २ बजेसम्म भएको र त्यसपछि मतगणना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले बताए ।
captain